वेस्ट ह्यामलाई हराउँदै चेल्सी पाँचौं स्थानमा : टोटनह्याम छैटौंमा चिप्लियो

काठमाडौं, पुस ७
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिगको १४औं साताको खेलमा प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा चेल्सीले आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पाहुना टोली वेस्ट ह्यामलाई ३–० ले निराश बनायो ।

चेल्सीका लागि पहिलो गोल खेलको दशौं मिनेटमा ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले गरेका थिए । मासोन मोउन्टले हानेको कर्नर किकबाट आएको बललाई सिल्भाले बक्सभित्रबाट आकर्षक ढंगले हेडिङमार्फत् जाली चुमाए ।

त्यसपछि चेल्सीलाई दोस्रो गोल गर्न खेलको ७८औं मिनेटसम्म पखिर्नु परेको थियो । अन्तिम २ गोल युवा स्टार टमी अब्राहमले गरेका थिए । खेलको ७८औं मिनेटमा टिमो वार्नरको पासमा अब्राहमले गोल गरेपछि चेल्सी जिततर्फ अघि बढेको थियो । त्यसपछि अब्राहमले नै खेलको ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल चेल्सीले ३–० ले जित्यो ।

अब यो जितपछि चेल्सी १४औं खेलबाट २५ अंक बनाएर पाँचौं स्थानमा चढेको छ । यता, गत साता शीर्ष स्थानमा रहेको टोटनह्याम अहिले छैटौं स्थानमा झरेको छ । यता, पराजित वेस्ट ह्याम २१ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ०७:४८
Loading...