लेवान्डोस्कीलाई उछिन्दै रोनाल्डो बने सर्वाधिक गोलकर्ता

काठमाडौं, पुस ६
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सर्वाधिक लिग गोलमा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पारेका छन् । युरोपियन टप–५ लिगअन्तर्गत वर्ष २०२० को सर्वाधिक गोलकर्तामा लेवान्डोस्कीलाई पछि पार्दै रोनाल्डो पहिलो बनेका छन् ।

यस वर्ष लिग खेलको मात्रै तथ्यांक हेर्दा रोनाल्डोले २०२० मा हालसम्म कूल ३३ गोल गरिसकेका छन् । २ दिनअघि उनले सिरी ए लिगमा पार्माविरुद्धको खेलमा २ गोल गर्दै लेवान्डोस्कीलाई पछि छाडेका हुन् । सो खेलअघि रोनाल्डो लेवान्डोस्कीभन्दा १ गोलले पछि थिए । हालको स्थितिमा रोनाल्डोका नाममा कूल ३३ गोल छ भने लेवान्डोस्कीका नाममा ३२ गोल छ ।

लेवान्डोस्कीले वर्ष २०२० को सबै लिग खेल खेलिसकेकाले अब उनको गोल संख्या बढ्ने कुरै भएन । तर, रोनाल्डोले अझै यस वर्षको अन्तिम एक खेल खेल्नै बाँकी छ । रोनाल्डोले अन्तिम खेल बाँकी छँदै लेवान्डोस्कीलाई पछि पारिसकेका छन् । तसर्थ, यदि रोनाल्डोले अन्तिम खेलमा गोल नगरे पनि उनी वर्ष २०२० को सर्वाधिक लिग गोलकर्ता अहिले नै बनिसकेका छन् ।

यता, जारी सिजनको मात्रै कुरा गर्दा रोनाल्डोले सिरी ए लिगमा ९ खेलबाट १२ गोल गरेका छन् । उनी लिगका सर्वाधिक गोलकर्ता हुन् । यता, लेवान्डोस्कीले बुन्डेसलिगामा १२ खेलबाट १७ गोल गरिसकेका छन् । युभेन्टसले हालसम्म यो सिजन १३ खेल खेल्दा रोनाल्डोले ४ खेल गुमाइसकेका छन् ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार २१:४०
Loading...