चोटमुक्त भएर डेम्बेले हाँस्दै प्रशिक्षणमा फर्किए

काठमाडौं, पुस ६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेले चोटमुक्त भएर प्रशिक्षणमा फर्किएका छन् । उनले आइतबारबाटै समूहमा प्रशिक्षण थालेका छन् । टिम कठिन अवस्थाबाट गुज्रिरहेका बेला एक कौशलपूर्ण अट्याकिङ खेलाडीको कमब्याकले प्रशिक्षक रोनाल्ड कोम्यानलाई राहत मिल्ने देखिएको छ ।

मैदान फर्किनुअघि डेम्बेलेको चरणबद्ध रूपमा मेडिकल जाँच चलिरहेको छ । उनले २०२० को अन्तिम खेल खेल्ने सम्भावना कम भए पनि २०२१ को सुरुआतबाट ठीकठाक मैदान फर्किने लक्ष्यसाथ रिकभरी प्रक्रियामा छन् । डेम्बेले यसअघि च्याम्पियन्स लिगको खेल दौरान घाइते भएर टोलीबाहिर रहँदै आएका थिए ।

बार्सिलोनाको फ्रन्ट लाइनमा अहिले युवा स्टार अन्सु फाती घाइते हुँदा अर्का युवा खेलाडी ट्रिनकाओबाट अपेक्षाअनुसार प्रदर्शन नहुँदा कोम्यानलाई समस्या बढेको छ । तर, डेम्बेलेको फिर्तीले उनलाई आगामी खेलमा सहयोग पुग्नेमा उनी आशावादी छन् । जारी सिजन डेम्बेलेले १२ खेल खेल्दै ४ गोल गरेका छन् । उनी यो सिजन चौथोपटक घाइते भएका हुन् । डेम्बेले बार्सिलोनामा सबैभन्दा बढी घाइते हुने खेलाडी हुन् ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार २१:००
Loading...