प्रशिक्षकले बार्सिलोना ‘खराब स्थिति’बाट गुज्रिनुको कारण खुलाए

काठमाडौं, पुस ६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफूहरूले ला लिगा माया मारिनसकेको बताएका छन् । अघिल्लो दिन आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग २–२ को कठिन बराबरी खेलेपछि मिडियासँग प्रतिक्रिया दिँदै डच म्यानेजरले बार्सिलोना अझै उपाधि होडमा रहने बताए । क्याम्प नोउ रंगशालामा बार्सिलोनाले फितलो प्रदर्शन गर्दा २ अंक गुमाएको थियो । सो खेलमा कप्तान लिओनल मेस्सीले पेनाल्टी मिस गरेका थिए ।

भ्यालेन्सियासँग घरेलु मैदानमा बराबरीमा रोकिएसँगै बार्सिलोनाले यो सिजन सुरुआती १३ खेलकै बीचमा सातौंपटक अंक गुमाएको छ । बार्सिलोनाले १३ खेलको कूल ३९ मध्ये मात्रै २१ अंक जोडेको छ । उसले ६ खेल जितेर ३ खेल बराबरी गर्दा ४ खेल नै हारेको छ । हालको स्थिति हेर्दा बार्सिलोना ला लिगामा ३२ वर्षयताकै सबैभन्दा खराब स्थितिबाट गुज्रिरहेको छ ।

‘लिग हामीले सोचेजस्तो भइरहेको छैन । केही समयअघिसम्म मलाई लागेको थियो– हामी २०२० को अन्त्यसम्ममा लिग लिडर बन्नेछौं । तर, हामीले लगातार खराब प्रदर्शन गर्दै आयौं । र, अंक गुम्दै गायो । अहिले हामी जुन स्थितिमा छौं, त्यो हाम्रा लागि विल्कुलै राम्रो होइन,’ कोम्यानले ‘मार्सा’सँगको कुराकानीक्रममा भनेका छन्, ‘हामीले कम्तीमा दुई खेलमा पनि एकनाशको प्रदर्शन गर्न सकेका छैनौं । हाम्रो प्रदर्शन र नतिजामा अप–डाउन छ । रियल सोसिडाडविरुद्ध हामीले सुधारिएको खेल्यौं । तर, भ्यालेन्सियाविरुद्ध हाम्रो प्रदर्शन निकै फितलो रह्यो । म र मेरा खेलाडीलाई थाहा छ– हामी ठीक दिशामा छैनौं ।’

कोम्यानले बार्सिलोना हाल राम्रो स्थितिमा नरहे पनि आफूहरूले ला लिगालाई टाटा बाई–बाई गरिनसकेको बताए । ‘हो, हामी पछि छौं । तर, हामीले लिगलाई गुड बाई भनिसकेका छैनौं । यदि हामीले आफ्नो स्तरको खेल्न र राम्रा नतिजा निकाल्न थाल्यौं भने अहिलेको अंक दूरी ठूलो कुरा होइन । हामीसँग समय छ तर तत्कालै सम्हालिनु आवश्यक छ ।’

कोम्यानले टिम खराब स्थितिमा आइपुग्नुको खास कारण आफ्ना खेलाडीमा आत्मविश्वासको कमी देखिएको बताए । खेलमा पछि परेपछि पुनरागमन गर्र्ने बेला खेलाडी निराश हुने गरेको उनले स्वीकारे । ‘प्रशिक्षकका रूपमा हेर्दा मैले मेरा खेलाडीमा आत्मविश्वासको कमी देख्छु । जब टिम गोल खाएर पछि पर्छ वा विपक्षीले दबाब बढाउँछ, हामी त्यसलाई रोकेर खेललाई पकडमा लिन सक्दैनौं । हाम्रो समस्या यही हो । हामीसँग प्रशस्तै बल हुन्छ, हामी प्रशस्तै पास खेल्छौं । तर, आवश्यक परेका बेला गोल निकाल्न सक्दैनौं । सबैभन्दा पहिला हामीले टिममा मजबुत आत्मविश्वास फर्काउनुपर्छ,’ कोम्यानले थपे ।

कोम्यानले आफ्नो जागिर जाने विषयलाई लिएर आफूले चिन्ता नगरेको पनि बताए । ‘माफ गर्नु होला । मैले मेरो जागिरको भविष्यबारे सोचेको छैन । मैले टिमलाई सम्हाल्न र राम्रा दिन फर्काउन प्रयास गरिरहेको छु । यदि त्यो समय आयो भने पनि मैले स्वीकार्नुपर्छ । तर, सबैभन्दा खराब समय आउनुभन्दा अघि हामीले सबै एक भएर संघर्ष गर्नुपर्छ । किनभने, अहिले हाम्रा लागि सबै प्रतियोगिता खुला छन् । र, हामी चिन्ताजनक स्थितिमा पुगिसकेका छैनौं,’ उनले थपे ।

च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीसँगको ड्रबारे बोल्दै कोम्यानले अहिले आफूले त्यसबारे सोच्न थालिनसकेको बताए । ‘साँच्चै भन्दा मैले च्याम्पियन्स लिगबारे सोच्न र चिन्ता गर्न थालेको छैन । त्यसका लागि समय छ । अहिले मेरो ध्यान ला लिगामा राम्रो गर्ने र सुपर कपको तयारीमा छ,’ कोम्यानले भने, ‘पिएसजी गत सिजनको फाइनालिस्ट हो । मलाई थाहा छ, उनीहरू कठिन प्रतिस्पर्धी हुन् । तर, उनीहरूलाई पनि सजिलो भने हुनेछैन ।’

प्रकाशित मिति ६ पुष २०७७, सोमबार १६:३३
Loading...