एइबारमाथि रियल मड्रिडको प्रभावशाली जित : शीर्ष स्थानको एथ्लटिकोसँग अंक बराबरी

काठमाडौं, पुस ६
स्पेनिस ला लिगा फुटबल प्रतियोगिता रियल मड्रिडले लगातार चौथो जित निकालेको छ । गत राति भएको लिगको १४औं साताको खेलमा रियलले एइबारलाई उसकै घरेलु मैदानमा १–३ ले पराजित गरेको हो । यससँगै रियलले आफ्ना पछिल्ला ४ खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ ।

एइबारको घरेलु मैदानमा रियलले खेलको छैटौं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । सो गोल करिम बेन्जेमाले गरेका थिए । उनले रोड्रिगो गोएसको पासमा गोल गरेका थिए । त्यसपछि रियलले खेलको १३औं मिनेटमै अग्रता दोब्बर बनायो । यसपटक बेन्जेमाको पासमा लुका मोड्रिकले निकै सुन्दर गोल गरे ।

त्यसपछि घरेलु टोलीले खेलको २८औं मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । यसपटक किकेले गोल गरेर खेल १–२ बनाए । सो गोलपछि एइबारले बराबरी गोलको खोजीमा लामो समय संघर्ष गरे पनि उसले अवसर सदुपयोग गर्न सकेन । जब खेलको इन्जुरी समयमा लुकास भासक्वेजले बेन्जेमाको पासमा गोल गरे, रियलको १–३ को जित पक्का भयो ।

अब यो जितपछि रियल १४ खेल सकिँदा २९ अंक बनाएर दोस्रो स्थानमा चढेको छ । उसले दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । हाल यी दुवै टोली संयुक्त रूपमा शीर्ष स्थानमा छन् । रियलले अब बार्सिलोनालाई स्पष्ट ८ अंकले पछि छाडेको छ । यता, पराजित एइबार १४ खेलपछि १५ अंकका साथ १४औं स्थानमा छ ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ०८:५६
Loading...