काठमाडौं, पुस ५
जारी सिजन इटालियन सिरी ए लिगको उपाधि होडमा रहेको एसी मिलानले १३औं साताको खेलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा मिलानले सासुओलोलाई उसकै घरेलु मैदानमा १–२ ले निराश बनायो । भ्रमणकारी टोली मिलानका लागि खेल सुरु भएको पहिलो मिनेटमै राफाएल लियाओले गोल गरेर घरेलु टोलीलाई पछि पारेका थिए ।
युवा खेलाडी लियाओले खेल सुरु भएको मात्रै ६ सेकेन्डमा गोल गरेका थिए । मैदानको बीचबाट बल चलेको पहिलो मुभमै उनले बललाई शानदार ढंगले जाली चुमाएका थिए । उनले मात्रै ६ सेकेन्डमा गरेको गोल कीर्तिमानी बनेको छ । सिरी ए लिग इतिहासमै यो सबैभन्दा चाँडो भएको गोल हो ।
लियाओको गोलपछि २६औं मिनेटमा एलेक्सिस सालेमेकर्सले गोल गरेपछि एसी मिलानले ०–२ को सहज अग्रता बनायो । मिलान पहिलो हाफमा गरेको २ गोलको अग्रता बचाएर जित नजिक पुगेको थियो । तर, खेलको अन्तिम समय ८९औं मिनेटमा सासुओलोका लागि डोमेनिको बेराडीले गोल गरेपछि मिलानको जित १–२ मा खुम्चियो ।
अब यो जितपछि मिलानले १३ खेलबाट ३१ अंक जोडेर शीर्ष स्थानमा अग्रता कायमै राखेको छ । ३० अंक भएको इन्टर मिलान दोस्रो स्थानमा छ भने युभेन्टस २७ अंकसहित तेस्रो स्थानमा छ । युभेन्टस अहिले एसी मिलानभन्दा ४ अंकले पछि छ ।
प्रकाशित मिति ५ पुष २०७७, आईतवार २२:३७