चलेन केन र सनको जादु : लेस्टरद्वारा टोटनह्याम आफ्नै घरमा स्तब्ध

काठमाडौं, पुस ५
इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेको टोटनह्यामलाई झट्का लागेको छ । आइतबार राति भएको लिगको १४औं साताको खेलमा पाहुना टोली लेस्टर सिटीले टोटनह्यामलाई उसकै घरेलु मैदानमा ०–२ ले स्तब्ध बनायो । अघिल्ला खेलहरूमा उच्च लयमा रहेका फरवार्डद्वय ह्यारी केन र सन हेङ मिनको आज कुनै जादु चलेन ।

घरेलु मैदानमा टोटनह्यामले १ पेनाल्टी गोल खायो भने १ गोल आफैंले आत्मघाती गरेको थियो । सुरुआतबाटै लेस्टरको दबाबमा परेको टोटनह्यामले खेलमा न राम्रा मुभ बनायो, न अवसर नै । लेस्टरले पहिलो हाफको थप समयमा पेनाल्टी गोल गरेर खेलमा अग्रता लिएको थियो । टोटनह्यामका डिफेन्डरले बक्समा धकेलेर लडाएपछि रेफ्रीले लेस्टरलाई पेनाल्टी दिए, जसमा जिमी भर्डीले गोल गर्दै खेल ०–१ बनाए ।

त्यसपछि खेलको ५९औं मिनेटमा टोटनह्यामले आफ्नै पोस्टमा गोल हान्यो । डिफेन्डर टबीले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेपछि लेस्टरले खेलमा ०–२ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा टोटनह्याम खेलमा फर्किन सकेन । र, खेल लेस्टरले ०–२ ले जित्यो ।

अब यो जितपछि लेस्टर १४ खेलबाट २७ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । ऊ अब लिग लिडर लिभरपुलभन्दा ४ अंकले पछि । पराजित टोटनह्याम २५ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार २२:०३
Loading...