इन्टर मिलानले जित्दा युभेन्टसमाथि दबाब कायमै

काठमाडौं, पुस ५
इटालियन सिरी ए लिग फुटबलमा उपाधि होडमा रहेको इन्टर मिलानले अर्को जित निकालेको छ । आइतबार राति भएको लिगको १३औं खेलमा मिलानले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्पेजियामाथि २–१ को जित निकाल्यो ।

घरेलु मैदानमा मिलानले पहिलो गोलका लागि ५१औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो । सो गोल अचरफ हाकिमीले गरेका थिए । त्यसपछि खेलको ७१औं मिनेटमा मिलानले पेनाल्टी पायो । सो पेनाल्टी रोमेलु लुकालुले प्रहार गर्दै गोल हुँदा खेलमा मिलान २–० ले अघि भयो । लुकाकुका लागि आजकोे गोल यो सिजनको ११औं लिग गोल हो ।

मिलान क्लिन सिटसहितको जितको बहुत नजिक थियो । तर, थपिएको समयको चौथो मिनेटमा स्पेजियाका लागि रावेर्टो पिकाओलीले गोल गरेपछि मिलानको जित २–१ मा खुम्चियो । अब यो जितपछि मिलानले साबिक विजेता युभेन्टसमाथि दबाब कायमै राखेको छ । ताजा स्थितिमा मिलान १३ खेलपछि ३० अंकसहित दोस्रो स्थानमा छ भने युभेन्टस २७ अंकसहित तेस्रो स्थानमा छ । लिग लिडर एसी मिलानको खातामा ३१ अंक छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार २१:४७
Loading...