आफ्नो रेकर्ड बराबरी गरेपछि पेलेले मेस्सीलाई पठाए यस्तो सन्देश

एजेन्सी, पुस ५
ब्राजिलका लिजेन्ड खेलाडी पेलेले स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीलाई बधाई सन्देश पठाएका छन् । आफ्नो कीर्तिमानी गोल रेकर्डसँग बराबरी गरेपछि पेलेले सामाजिक सन्जालमार्फत् मेस्सीलाई बधाई दिँदै उनको तारिफ गरेका छन् ।

गत राति मेस्सीले भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको नाममा रहेको एक क्लबका लागि सर्वाधिक ६४३ गोलको रेकर्डसँग बराबरी गरेका थिए । पेलेले आफ्नो करिअर दौरान घरेलु क्लब सान्तोषविरुद्ध कूल ६४३ गोल गरेका थिए, जुन फुटबल इतिहासमा कुनै पनि खेलाडीले एकै क्लबका लागि गरेको सर्वाधिक गोल थियो ।

तर, गत राति मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट ६४३औं गोल गर्दै पेलेको दुर्लभ रेकर्डसँग बराबरी गरे । मेस्सीले बार्सिलोनामा १७ सिजन बिताउनेक्रममा गत राति ६४३ गोल पूरा गरे । मेस्सीलाई अब पेलेको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउन मात्रै १ गोल आवश्यक छ ।

मेस्सीले आफ्नो रेकर्ड बराबरी गरेपछि पेलेले मेस्सीलाई सामाजिक सन्जालमार्फत् बधाई दिए । दुई वर्षअघि नै मेस्सीले गोल गर्दा सेलिब्रेसन गरेको एक तस्बिर राखेर बधाई दिएका छन् । उसामान डेम्बेलेले मेस्सीलाई बोकेको सो तस्बिर पेलेको एक पुरानो तस्बिरसँग करिब–करिब मिल्छ । पेलेले सन्देशमा लेखेका छन्–

‘जब तिम्रो मुटु प्रेमले ओतप्रोत हुन्छ, मार्ग परिवर्तन गर्न कठिन हुन्छ । तिमीलाई जस्तै मलाई पनि थाहा छ, एकै टिसर्ट हरेक दिन लगाउन कति मन पर्दछ । अनि मलाई यो पनि थाहा छ, आफूले घरजस्तो अनुभूत गरेको ठाउँभन्दा राम्रो अरू केही हुँदैन । यति लामो समय एउटै क्लबलाई माया गर्नु हाम्रो उस्तै कथा छ । दुर्भाग्य अहिले फुटबलमा यस्तो कमै देखिन्छ ।’

पेलेले अघि लेखेका छन्, ‘म तिम्रो धेरै प्रशंसा गर्छु, लिओनल ।’

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १९:५६
Loading...