रोनाल्डो सिरी ए लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा चढे

काठमाडौं, पुस ५
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो घरेलु सिरी ए लिगको सर्वाधिक गोलकर्ताको सूचीमा चढेका छन् । गत राति अवे मैदानमा पार्माविरुद्धको खेलमा २ शानदार गोल गरेपछि रोनाल्डो कूल १२ गोलसहित सर्वाधिक गोलकर्ता बनेका हुन् ।

पार्माविरुद्ध रोनाल्डोले पहिलो हाफमा हेलिकप्टर सटमा दर्शनीय हेडिङ गोल गरेका थिए भने दोस्रो हाफको सुरुआतमा लो सटमा अर्को शानदार गोल गरेका थिए । ती २ गोलसँगै यो सिजन उनले लिगमा गरेको कूल गोल संख्या १२ पुगेको छ, जुन सबैभन्दा बढी हो ।

यसअघि रोनाल्डोभन्दा अघि इन्टर मिलानका बेल्जियन स्टार रोमेलु लुकाकु थिए । हालको ताजा स्थितिमा रोनाल्डो १२ गोलसहित शीर्ष स्थानमा रहँदा इन्टरका लुकाकु र एसी मिलानका ज्लाटन इब्राहिमोभिच समान १०–१० गोलसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

इन्टर मिलान र एसी मिलानले आज राति आ–आफ्नो खेल खेल्ने भएकाले ती खेलमा यी दुवै खेलाडीले २ वा सोभन्दा बढी गोल गरे हालको गोलकर्ताको सूची परिवर्तन हुनेछ । हालसम्म रोनाल्डोले कूल ९ खेलबाट १२ गोल गरेका छन् भने लुकाकुले ११ खेलबाट १० गोल गर्दा ज्लाटनले ६ खेलबाट १० गोल गरेका छन् ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १८:४८
Loading...