ला लिगामा मेस्सीले पूरा गरे नयाँ कोसेढुंगा

काठमाडौं, पुस ४
स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सीले ला लिगा फुटबलमा नयाँ कोसेढुंगा पूरा गरेका छन् । उनले यस लिगमा ४५० गोलको कोसेढुंगा पूरा गरेका हुन् । गत राति बार्सिलोनाले आफ्नो घरमा २–२ को बराबरी खेल्नेक्रममा मेस्सीले १ गोल गरेका थिए ।

पहिलो हाफको थप समयको चौथो मिनेटमा मेस्सीले गरेको गोल उनका लागि ४५०औं ला लिगा गोल थियो । सो खेलमा मेस्सीले पहिला पेनाल्टी मिस गरे पनि रिबाउन्ड बलमा हेडिङमार्फत् गोल गरेका थिए । सो खेलमा बार्सिलोनाले आफ्नै घरमा बराबरीमा रोकिँदै अंक बाँडेको थियो ।

सन् २००४ देखि ला लिगा खेलिरहेका ३३ वर्षीय मेस्सीले १७ सिजन बिताउनेक्रममा ४९८ खेलबाट ४५० गोल गरेका हुन् । उनी ला लिगाका सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडी हुन् । साथै, उनी ला लिगा सबैभन्दा धेरै १०औं पटक जित्ने एक्ला खेलाडी पनि हुन् ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १७:३५
Loading...