ला लिगा : दोस्रो स्थानको रियल सोसिडाड लेभान्टेसँग पराजित

काठमाडौं, पुस ५
स्पेनिस ला लिगा फुटबलमा उपाधि होडमा रहेको दोस्रो स्थानको रियल सोसिडाड पराजित भएको छ । गत राति भएको लिगको १५औं साताको खेलमा सोसिडाडलाई लेभान्टेले २–१ ले पराजित गरेको हो । यससँगै सोसिडाडलाई अंक तालिकामा झट्का लागेको छ ।

प्रतिस्पर्धात्मक खेलमा सोसिडाडले अन्तिम समयमा गोल खाएपछि हार भोग्नु परेको हो । २२औं मिनेटमा सोसिडाडका लागि अलेक्जान्डर इशाकले गोल गर्दै घरेलु टोली लेभान्टेविरुद्ध अग्रता दिलाएका थिए । तर, खेलको २८औं मिनेटमा रोजर मार्टीले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि दुवै टोली विजयी गोलको खोजीमा ठूलै संघर्षमा देखिए । दुवै टिमले बराबरीजस्तै गोलका मुभ बनाउँदा अवसर पनि बराबरी नै सिर्जना गरे । ८६औं मिनेटसम्म गोल नभपपछि खेल बराबरी नजिक पुगेको थियो । तर, ८७औं मिनेटमा घरेलु टोली लेभान्टेका लागि जोर्गे फ्रुटोजले गोल गरेपछि खेल २–१ ले जित्यो ।

अब यो जितपछि लेभान्टे १३ खेलपछि १४ अंक बनाएर अकंक तालिकाको १४औं स्थानमा चढेको छ । पराजित सोसिडाड अझै पनि १५ खेलपछि २६ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । आज राति तेस्रो स्थानको रियल मड्रिडले आफ्नो खेल खेल्दैछ । सो खेल जिते वा बराबरी गरे रियल लिगको दोस्रो स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०९:४०
Loading...