पार्मामाथि युभेन्टसको फराकिलो जित : रोनाल्डो र मोराटा चम्किए

काठमाडौं, पुस ५
प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको उच्च प्रदर्शनमा युभेन्टसले इटालियन सिरी ए लिग फुटबलमा फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा युभेन्टसले पार्मालाई उसकै घरेलु मैदानमा ०–४ ले स्तब्ध बनायो । अवे मैदानमा युभेन्टसलाई जिताउन रोनाल्डोले २ शानदार गोल गरे भने मोराटाले २ असिस्ट र १ गोल गरे ।

पार्माको घरेलु मैदानमा युभेन्टसले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो । युभेन्टसका लागि पहिलो गोल खेलको २३औं मिनेटमा डेजान सुलुसेभ्स्कीले गरेका थिए । उनले अल्भारो मोराटाको पासमा लो सट हानेर शानदार गोल गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको २६औं मिनेटमा रोनाल्डोले गरे । रोनाल्डोले अल्भारो मोराटाको हाई पासमा बक्स भित्रबाट दर्शनीय हेलिकप्टर हेडिङ गोल गरेका थिए । रोनाल्डोले डिफेन्डरका अगाडिबाट सजिलैसित हाई जम्प हानेर बललाई पोस्टको दिशा दिएका थिए । रोनाल्डोका लागि यो सिजनको ११औं लिग थियो ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ रोनाल्डोले गोल गरे । ४८औं मिनेटमा आरोन राम्जेको पासमा उनले माथिल्लो भागबाट शक्तिशाली प्रहारमा सुन्दर फिनिसिङ दिँदै बललाई जाली चुमाएपछि युभेन्टस खेलमा ०–३ ले अघि रह्यो । रोनाल्डोले त्यसपछि ह्याट्रिक गर्ने मौका बनाएका थिए । तर, उनी सफल भएनन् । उनलाई ८२औं मिनेटमा सब्सिच्युट गरियो ।

त्यसपछि खेलको ८५औं मिनेटमा अघिल्ला २ गोलमा असिस्ट दिएका मोराटाले निकै सुन्दर हेडिङ गोल गरेपछि खेल युभेन्टसले ०–४ ले जित्यो । अब यो जितपछि युभेन्टसले १३ खेलबाट २७ अंक जोडेको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गर्दा लिग लिडर एसी मिलानसँको दूरी पनि १ मा झारेको छ । तर, इन्टर मिलान र एसी मिलान दुवैले आफ्नो १३औं खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०३:१९
Loading...