मेस्सीले गरे पेलेको दुर्लभ कीर्तिमानसँग बराबरी

काठमाडौं, पुस ४
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले ब्राजिलका महान् खेलाडी पेलेको दुर्लभ रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय मेस्सीले पेलेले एक क्लबका लागि गरेको फुटबल इतिहासकै सर्वाधिक गोलको रेकर्ड बराबरी गरेका हुन् । मेस्सीले आज बार्सिलोनाका लागि ६४३ गोल गर्दै पेलेको बहुप्रतीक्षित रेकर्ड बराबरी गरे ।

आज (शनिबार) बार्सिलोनाले ला लिगाअन्तर्गत घरेलु मैदानमा भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा मेस्सीले १ गोल गर्दै पेलेको रेकर्ड बराबरी गरेका हुन् । पेलेले आफ्नो करिअर दौरान घरेलु ब्राजिलियन क्लब सान्तोषका लागि कूल ६४३ गोल गरेका थिए । उनले आफ्नो सिंगै करिअर घरेलु क्लब सान्तोषमा बिताउँदै ६५६ खेलबाट ६४३ गोल गरेका थिए । उनले कूल १९ सिजन सान्तोषबाट खेलेका थिए । पेलेले सन् १९५६ मा व्यावसायिक करिअर सान्तोषबाट थालेर सोही क्लबबाट १९७४ मा करिअर अन्त्य गरेका थिए ।

फुटबल इतिहासमा आजसम्म कुनै पनि खेलाडीले एकै क्लबका लागि गरेको सबैभन्दा धेरै गोलको रेकर्ड पेलेका नाममा थियो । तर, अब सो रेकर्ड संयुक्त रूपमा मेस्सीका नाममा रहेको छ । सम्भवतः मेस्सीले आगामी खेलबाट यो रेकर्ड तोड्न सक्नेछन् । बार्सिलोनाका लागि मेस्सीले सबैखाले प्रतियोगिताबाट गरेको कूल गोल संख्या अब कूल ६४३ पुगेको छ, पेलेले सान्तोषका लागि गरेजति नै । मेस्सीले कूल ७४८ खेलबाट ६४३ गोल गरेका हुन् । मेस्सीले सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् ।

मेस्सीले पेलेको रेकर्ड बराबरी गरेको खेलमा उनले पेनाल्टी मिस गरे । उनले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका गोलकिपरले रोके पनि रिबाउन्ड बलमा मेस्सीले हेडिङमार्फत् गोल गरेका थिए । तर, मेस्सीले पेनाल्टी मिस गरेकै खेलमा हेडिङ गोल गर्दै पेलेको रेकर्ड बराबरी गर्न सफल भए । क्याम्प नोउमा भएको सो खेल २–२ को बराबरीमा सकियो ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार २३:४२
Loading...