२००औं खेलमा चम्किए स्वारेज : एथ्लेटिको मड्रिडको सहज जित

काठमाडौं, पुस ४
उरुग्वेन फरवार्ड लुइस स्वारेजको उत्कृष्ट प्रदर्शनको मदतमा स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको लिगको १२औं खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली इल्चेमाथि ३–१ को जित निकाल्यो । वान्डा मेट्रोपोलिटानो रंगशालामा एथ्लेटिकोलाई जिताउन स्वारेजले २ र डग्लस कोस्टाले १ गोल गरे ।

आजको खेल स्वारेजका लागि ला लिगामा २००औं खेल थियो । उनले महत्त्वपूर्ण कोसेढुंगाको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले पूर्वक्लब बार्सिलोना र एथ्लेटिकोका लागि गरी कूल २०० खेलबाट २५४ गोल गर्न सफल भएका छन् । यसअघि उनले १९९ खेलबाट २५२ गोल गरेका थिए ।

एथ्लेटिकोका लागि खेलको ४१औं मिनेटमा स्वारेजले गोल गरेका थिए । उनले ट्रिपिएरको पासमा गोल गरेका थिए । त्यसछि खेलको ५८औं मिनेटमा स्वारेजले नै यानिक कारास्कोको क्रस पासमा स्लाइडिङ पोजिसनबाट कठिन गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । ६४औं मिनेटमा इल्चेका लागि लुकास बोएले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिए ।

तर, खेलको ८०औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पायो । सब्सिच्युट खेलाडी डग्लस कोस्टालाई बक्समा फउल गरेपछि रेफ्रीले घरेलु टोलीलाई पेनाल्टी दिए । यसपटक सो पेनाल्टी प्रहार गर्दै स्वारेजलाई नयाँ क्लबमा पहिलो ह्याट्रिक गर्ने अवसर थियो । तर, पेनाल्टी कोस्टाले हानेपछि स्वारेजको ह्याट्रिक हुन पाएन । र, कोस्टाले गोल गरेर टिमको ३–१ को जित पक्का गरे ।

अब यो जितसँगै एथ्लेटिको १२ खेलबाट २९ अंक जोडेर लिगको शीर्ष स्थानमा चढेको छ । उसले १४ खेल खेलेको रियल सोसिडालाई ३ अंकले पछि पारेको छ । तर, सोसिडाडले आजै राति आफ्नो खेल खेल्ने हुँदा सो खेलपछि अंक तालिका तल–माथि हुन सक्नेछ । यता, पराजित इल्चे भने १२ खेलपछि १४ अंकका साथ १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार २०:४६
Loading...