ला लिगामा आज बार्सिलोनालाई भ्यालेन्सियाको चुनौती

काठमाडौं, पुस ४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज विभिन्न ५ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये बार्सिलोना र भ्यालेन्सियाको खेल सबैभन्दा आकर्षक खेल हुनेछन् । आजको खेलका लागि बार्सिलोनाले भ्यालेन्सियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

हाल अंक तालिकामा बार्सिलोना १२ खेलपछि २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाले यो सिजन १२ खेलमध्ये ६ खेल जितेर २ खेल बराबरी गर्दा ४ खेल हारेको छ । यता, आज बार्सिलोनाको घरेलु मैदानमा उत्रिन लागेको भ्यालेन्सिया १३ खेलपछि १४ अंक बनाएर १३औं स्थानमा रहेको छ । उसले यो सिजन ३ खेल जितेर ५ खेल बराबरी गर्दा ५ खेल हारेको छ ।

यो सिजन कमजोर स्थितिबाट गुज्रिरहेको बार्सिलोनाले आफ्ना पछिल्ला खेलमा सुधार गरेको छ । उसले यसअघिका २ खेल लगातार जितेको छ । उसले पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर २ खेल हारेको छ । बार्सिलोना आज घरेलु मैदानमा हुने खेलबाट लगातार तेस्रो जित निकाल्ने दाउमा छ ।

आज रातिको खेलमा कप्तान लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान, फिलिपे कोउटिन्होसहितका खेलाडी टोलीमा हुनेछन् । प्रारम्भिक टोलीमा सबैजसो प्रमुख खेलाडी समावेश भएका छन् । यो सिजन सुरुआतबाटै लय समात्न संघर्ष गरिरहेका मेस्सी यसअघिको खेलमा गोलविहीन बनेका थिए । उनका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

आज हुने खेलहरू नेपाली समयमा

एथ्लेटिको मड्रिड भर्सेस इल्चे – साँझ ६ः४५ बजे

बार्सिलोना भर्सेस भ्यालेन्सिया – राति ९ बजे

लेभान्टे भर्सेस रियल सोसिडाड – राति ११ः१५ बजे

ओसासुना भर्सेस भिल्लारियल – राति ११ः१५ बजे

सेभिल्ला भर्सेस भाल्लाडोलिड – राति १ः४५ बजे

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १३:०९
Loading...