सिरी ए : आज युभेन्टस र पार्माको भिडन्त हुँदै

काठमाडौं, पुस ४
इटालियन सिरी ए लिग फुटबलमा आज १३औं साताका ३ खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये एक खेलमा पार्मा र युभेन्टसको खेल पनि हुनेछ । यो खेलका लागि युभेन्टस पार्माको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा पार्मा १२ खेलपछि १२ अंक जोडेर १४औं स्थानमा रहेको छ । उसले यो सिजन हालसम्म मात्रै २ खेल जित्दा ६ खेल बराबरी गरेको छ भने ४ खेल हारेको छ । यता, आज उसको घरमा उत्रिन लागेको युभेन्टस हाल १२ खेलपछि २४ अंक बनाएर तेस्रो स्थानमा रहेको छ ।

लिगमा युभेन्टस हालसम्म पनि अपराजित रहेको छ । तर, यो सिजन उसले १२ खेल सकिँदा ६ खेल जितेर ६ खेल नै बराबरी गरेको छ । जबकि, गत सिजन उसले सिजनभरमा कूल ५ खेल मात्रै बराबरी गरेको थियो । लिगमा हाल युभेन्टससहित लिग लिडर एसी मिलान पनि अपराजित रहेको छ ।

आज युभेन्टस अवे मैदानमा हुने यो खेल जितेर इन्टर मिलानलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने दाउमा छ । एसी मिलानमाथि दबाब बढाउन पनि युभेन्टसलाई आजको जित निकै महत्त्वपूर्ण हुनेछ । यसअघि युभेन्टस आफ्नै घरमा एटलान्टासँग १–१ को बराबरीमा रोकिएको थियो ।

सो खेलमा युभेन्सका क्रिस्यिानो रोनाल्डोले पेनाल्टी मिस गरेका थिए । आज पार्माविरुद्ध उत्रिँदा रोनाल्डो पनि टोलीमा हुनेछन् । आजको खेलबाट उनी यसअघि भएको घाटा परिपूर्ति गर्न र आलोचना बन्द गर्न पनि सकेसम्म धेरै गोलको खोजीमा हुनेछन् । हालसम्म उनले लिगमा ८ खेलबाट १० गोल गर्दै २ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार ११:४१
Loading...