मेस्सी ‘पिस एन्ड स्पोर्ट्स अवार्ड’ द्वारा सम्मानित

एजेन्सी, पुस ४
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका क्याप्टेन लिओनल मेस्सी ‘च्याम्पियन फर पिस अवार्ड–२०२०’ बाट सम्मानित भएका छन् । शुक्रबार उनलाई प्रतिष्ठित ‘शान्तिका लागि नायक’ अवार्डद्वारा सम्मानित गरिएको हो । यस अवार्डलाई ‘पिस एन्ड स्पोर्ट्स अवार्ड’का नामले पनि चिनिन्छ ।

यो अवार्ड मेस्सीलाई फुटबल खेलाडीका रूपमा मैदानमा गरेको प्रदर्शनका आधारमा नभई मैदानबाहिर सामाजिक क्षेत्रमा गरेको काम र योगदानको मूल्यांकन गरेर प्रदान गरिएको हो । यो अवार्ड हरेक वर्ष सामाजिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ ।

खेल क्षेत्रमा रहेर सामाजिक कार्यमा योगदान दिएबापत ‘पिस एन्ड स्पोर्ट्स प्लेयर अफ् द इयर’ जितेपछि मेस्सीले सामाजिक सन्जालमार्फत् धन्यवाद ज्ञापन गरेका छन् । मेस्सीले आफ्नो फाउन्डेसनमार्फत् स्पेन र अर्जेन्टिनामा विभिन्न क्षेत्रमा समाजसेवा गरिरहेका छन् । उनले अन्य संघ–संस्थाहरूसँग साझेदारी गरेर विश्वका विभिन्न देशमा सामाजिक काममा आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

मेस्सीले इन्स्टाग्राममा अवार्डसहितको तस्बिर राखेर लेखेका छन्– ‘शान्ति र खेलकुदलाई धन्यवाद । मैले सामाजिक क्षेत्रमा गरेको कामका लागि यो अवार्ड पाउँदा मैले आफूलाई सम्मानित अनुभूत गरेको छु ।’

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १०:५०
Loading...