हल्यान्डबिना डर्टमुन्डलाई जित्नै मुस्किल : वर्लिनले पनि हरायो

काठमाडौं, पुस ४
जर्मन लिग बुन्डेसलिगामा युवा स्टार अर्लिङ हल्यान्डबिनाको बोरुसिया डर्टमुन्डले अर्को पराजय भोगेको छ । गत राति भएको लिगको १३औं साताको खेलमा युनियन वर्लिनले आफ्नो घरमा पाहुना टोली डर्टमुन्डलाई २–१ ले स्तब्ध बनायो ।

नर्वेका २० वर्षीय हल्यान्ड चोटका कारण टोलीबाहिर रहेका बेला डर्टमुन्डले लगातार कठिनाइ भोगिरहेको छ । हल्यान्डबिना डर्टमुन्डले खेलेका पछिल्ला ५ खेलमध्ये मात्रै १ खेल जितेर ३ खेल हार्दा १ खेल बराबरी गरेको छ । कुनैबेला लिगको शीर्ष स्थानका लागि संघर्ष गरिरहेको डर्टमुन्ड अहिले चौथो स्थानमा पुगेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ ०–० मा सकिएको थियो । खेलको ५७औं मिनेटमा टाइयो आयोनीले गोल गरेर वर्लिनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ३ मिनेटमा डर्टमुन्डका लागि युसोयुफा मोउकोकोले गोल गरेर खेल १–१ बनाए । तर, खेलको ७८औं मिनेटमा मार्भिन फ्रिड्रिचले गोल गरेपछि खेल वर्लिनले २–१ खेल जित्यो ।

अब यो जितपछि वर्लिनले १३ खेलबाट २१ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । पराजित डर्टमुन्ड १३ खेलपछि २२ अंकसहित चौथो स्थानमै सीमित भएको छ । अब डर्टमुन्ड लिग लिडर बायर लेभरकुसेनभन्दा ६ अंकले पछि परेको छ ।

यसअघि डर्टमुन्डले नयाँ टोली स्टटगार्टसँग आफ्नै घरमा १–५ ले हारेपछि क्लबले प्रशिक्षक नै बर्खास्त गरेको थियो । त्यसपछि डर्टमुन्डले वेर्डरलाई १–२ ले हराए पनि त्यसपछिको खेलमा भने डर्टमुन्ड फेरि पराजित भयो ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १०:१८
Loading...