जिदानको अर्थपूर्ण सन्देश– ‘रियल मड्रिड सम्हालिएर अघि बढ्दै छ’

एजेन्सी, पुस ३
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आफूहरू सम्हालिँदै जितको बाटोमा फर्किएको बताएका छन् । चर्चित पत्रिका ‘मार्सा’सँग कुरा गर्दै फ्रेन्च कोचले यसअघि रियलले कठिनाइ भोगे पनि टिम अब सम्हालिएर अघि बढिरहेको बताए ।

रियलले डिसेम्बर १ तारिखमा च्याम्पियन्स लिगमा युक्रेनको क्लब शाख्तर डोनेट्स्सँग अवे मैदानमा ०–२ ले पराजित भएपछि रियलको चर्को आलोचना भएको थियो । त्यसअघि पनि रियल आफ्नै घरमा ला लिगामा अलाभेससँग १–२ ले हारेको थियो । यी दुई खेल लगातार हारेपछि प्रशिक्षक जिदानको जागिर नै धरापमा परेको थियो ।

यी दुई हारपछि रियलले लगातार चार खेलमा स्पष्ट जित निकालेको छ । डिसेम्बर ५ तारिखमा ला लिगामा सेभिल्लालाई उसकै घरमा ०–१ ले हराएपछि रियल लगातार जितको बाटोमा छ । सेभिल्लालाई हराएपछि च्याम्पियन्स लिगमा जर्मन क्लब मोन्चेङ्लाडवाचलाई २–० ले हराएर अन्तिम १६ मा प्रवेश गरेको थियो । त्यसपछि रियलले ला लिगामा एथ्लेटिको मड्रिडलाई २–० र एथ्लेटिक बिल्बाओलाई ३–१ ले जितेको थियो ।

अब रियलले आइतबार राति लिा लिगामा एइबारसँग खेल्दै छ । सो खेल जितेर रियल लगातार पाँच खेलमा जित निकाल्ने दाउमा छ । सो खेलअघि जिदानले रियल अब सम्हालिएर सबै प्रतियोगितामा बढ्ने बताए । ‘यो सबैलाई थाहा छ, हामीले डिसेम्बर अघिसम्म कठिनाइ भोग्यौं । ला लिगा र च्याम्पियन्स लिग दुवैमा हामीमाथि दबाब थियो । तर, हामीले हिम्मत हारेनौं । र, आवश्यक परेका बेला राम्रो नतिजा निकालेर अघि बढ्यौं,’ जिदानले भने, ‘आज हामी च्याम्पियन्स लिगको अन्तिम १६ मा छौं र ला लिगामा दोस्रो । हामीले यसलाई राम्रो मानेका छौं ।’

जिदानले आफू र आफ्ना खेलाडी सम्हालिएर अघि बढेको भन्दै आगामी खेलहरूमा ध्यानपूर्वक खेल्ने बताए । ‘मलाई लाग्छ, हामी कठिन स्थितिबाट सम्हालिएर यहाँसम्म आएका छौं । म र मेरा खेलाडी यो जान्दछौं । हामी हरेक खेल जित्न र अघि बढ्न चाहन्छौं,’ जिदानले भने, ‘अहिले हाम्रो ध्यान ला लिगामा छ । हामी च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलअघि ला लिगाको शीर्ष स्थानमा कम्तीमा ६ अंग्रता अग्रता लिन चाहन्छौं ।’

ला लिगामा हाल १३ खेल खेलेको रियल मड्रिड २६ अंकसहित तेस्रो स्थानमा छ । समान १४ खेल खेलेको रियल सोसिडाड समान २६ अंकसहित दोस्रो तथा ११ खेल खेलको एथ्लेटिको मड्रिड २६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १९:३३
Loading...