रासफोर्ड चम्किँदा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौं, पुस ३
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । गत राति भएको लिगको १२औं साताको खेलमा युनाइटेडले २०औं स्थानको सेफिल्ड युनाइटेडलाई उसकै घरेलु मैदानमा २–३ ले हरायो । युनाइटेडको महत्त्वपूर्ण जितमा इंग्लिस फरवार्ड मार्कुस रासफोर्डले २ गोल गरे । पराजित सेफिल्डका लागि पनि डेभिड गोलड्रिकले २ गोल गरे ।

घरेलु टोली सेफिल्डले खेलको पाँचौं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । सो गोल डेभिडले गरेका थिए । त्यसपछि खेलको २६औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–१ को स्थितिमा फर्काए । लगत्तै ३३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–२ को अग्रता बनायो ।

दोस्रो हाफ सुरु भएपछि पनि चाँडै युनाइटेडले तेस्रो गोल हान्यो । यसपटक ५१औं मिनेटमा रासफोर्डले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड १–३ को अग्रतासहित जिततर्फ अघि बढेको थियो । तर, खेलको ८७औं मिनेटमा सेफिल्डका लागि गोलड्रिकले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडको जित २–३ मा खुम्चियो ।

अब यो जितपछि युनाइटेड १२ खेल सकिँदा २३ अंक बनाएर अंक तालिकाको छैटौं स्थानमा चढेको छ । समान अंक भएको एभर्टन गोलअन्तरका आधारमा पाँचौं स्थानमा छ । पराजित सेफिल्ड भने मात्रै १ अंकका साथ २०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०९:३५
Loading...