स्पेनिस सुपर कपको सेमिफाइनल ड्र सार्वजनिक : पूरा जानकारी

काठमाडौं, पुस २
स्पेनिस सुपर कप फुटबलअन्तर्गत सिजन २०२०–२१ को ड्र घोषणा भएको छ । स्पेनिस फुटबल संघले आज सुपर कपका लागि सेमिफाइनल चरणको ड्र गरेको हो । फुटबल संघको केन्द्रीय कार्यालयमा भएको ड्र अनुसार यसपटक साबिक च्याम्पियन रियल मड्रिडले एथ्लेटिक बिल्बाओ प्रतिस्पर्धी पाएको छ । त्यसैगरी, बार्सिलोनाले रियल सोसिडाड प्रतिस्पर्धी पाएको छ ।

यस प्रतियोगितामा पहिला दुई टिमलाई सोझै फाइनल खेलाइने गरेकोमा गत वर्षबाट ४ टोलीलाई समेटेर सेमिफाइनलबाट खेलाउन थालिएको हो । यो प्रतियोगिता अहिले नयाँ ढाँचामा छ ।

सुपर कपको नयाँ ढाँचाअनुसार गत सिजनको ला लिगा च्याम्पियन टोली र उपविजेता बन्ने टोलीले खेल्न पाउँछन् । त्यसैगरी, कोपा डेल रे फुटबलको विजेता र उपविजेताले खेल्न पाउँछन् । गत सिजन ला लिगा रियलले जितेको थियो भने बार्सिलोना उपविजेत बनेको थियो । तर, गत वर्ष कोरोना भाइरसका कारण कोपा डेल रे फुटबलको फाइनल नभए पनि फाइनलमा पुगेका सोसिडाड र बिल्बाओलाई यसपटक सुपर कपमा समावेश गराइएको हो ।

निर्धारित तालिकाअनुसार सेमिफाइनल खेल आगामी वर्ष २०२१ का जनवरी १३ र १४ तारिखमा खेलाइनेछ । त्यसैगरी, फाइनल खेल भने जनवरी १७ तारिखमा खेलाइनेछ । सुपर कप हुने समयमा रियल मड्रिड, बार्सिलोना, एथ्लेटिक बिल्बाओ र रियल सोसिडाडले खेल्ने आफ्ना ला लिगा खेल पछिल्ला २ दिनमा खेलिसकेका छन् ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार २२:०५
Loading...