सिरी ए : लिग लिडर एसी मिलान रेलिगेसन टोलीसँग हारबाट बच्यो

काठमाडौं, पुस २
इटालियन सिरी ए लिगको उपाधि होडमा रहेको एसी मिलान मुस्किलले हारबाट बचेको छ । गत राति भएको लिगको १२औं साताको खेलमा मिलानले रेलिगेसन जोनको टिम जेनोआसँग अन्तिम समयमा गोल गर्दै हार पन्छायो । जेनोआको घरेलु मैदानमा भएको सो खेल २–२ को बराबरीमा सकिएको थियो ।

घरेलु टोली जेनोआका लागि खेलको ४७औं मिनेटमा माटिया डेस्ट्रोले पहिलो गोल गरेका थिए । उनले गोलकिपरबाट रिबाउन्ड भएको बलमा सहजै गोल गरेका थिए । त्यसपछि पाहुना टोली मिलान ५२औं मिनेटमा खेलमा फर्कियो । डेभिड कालाबारियाले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार पोलमा लाग्दै गोल भएको थियो ।

त्यसपछि खेलको ६०औं मिनेटमा जेनोआका लागि फेरि डेस्ट्रोले नै व्यक्तिगत दोस्रो गोल गरे । यसपटक उनले हेडिङमार्फत् गोल गरेका थिए । सो गोलछि जेनोआ जिततर्फ अघि बढेको थियो । तर, खेलको ८३औं मिनेटमा मिलानका लागि पियरेर कुलुलुले कर्नर किकबाट आएको बलमा गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

अब यो बराबरीपछि एसी मिलानले १२ खेलबाट २८ अंक बनाएको छ । ऊ अझै पनि दोस्रो स्थानको इन्टर मिलानभन्दा १ अंकले अघि नै छ । जेनोआ ७ अंकसहित १८औं स्थानमा छ ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०९:५६
Loading...