इन्टर मिलानले नापोलीलाई हरायो : रेफ्रीमाथि खनिँदा रातो कार्ड !

काठमाडौं, पुस २
इटालियन सिरी ए लिगको उपाधि होडमा रहेका इन्टर मिलान र नापोलीबीचको खेलमा मिलानले कठिन जित निकालेको छ । गत राति भएको लिगको १२औं साताको खेलमा मिलानले आफ्नो घरेलु मैदानमा पाहुना टोली नापोलीमाथि १–० को जित निकालेको हो ।

सान सिरो रंगशालामा भएको खेलमा मिलानलाई पाहुना टोलीविरुद्ध जित निकाल्न १ मात्रै पनाल्टी गोलको सहारा लिनु परेको थियो । घरमा चर्को दबाबमा परेर खेलेको मिलानले खेलको ७३औं मिनेटमा पेनाल्टी पायो । बक्समा नापोलीका गोलकिपरले मिलानका खेलाडीलाई बल प्रहार गर्नेक्रममा लडाएपछि रेफ्रीले घरेलु टोलीलाई सोझै पेनाल्टी दिएका थिए ।

जसमा बेल्जियन स्टार रोमेलु लुकाकुले कुनै गल्ती नगरी गोल गरेर टिमलाई १–० को अग्रता दिलाए । सो गोलअघि नापोलीका फरवार्ड लोरेन्जो इन्सिग्नेले रातो कार्ड पाएका थिए । रेफ्रीले मिलानलाई पेनाल्टी दिएपछि रेफ्रीमाथि खनिएका उनलाई सोझै रातो कार्ड दिइएको थियो ।

रातो कार्ड र पेनाल्टी गोल खाएपछि पाहुना टोली नापोली फेरि खेलमा फर्किन सकेन । र, खेल मिलानले १–० ले जित्यो । अब यो जितपछि मिलान १२ खेलबाट २७ अंक जोड्दै दोस्रो स्थानमा चढेको छ । पराजित नापोली समान खेलपछि २३ अंकसहित चौथो स्थानमा छ । गत राति एटलान्टासँग बराबरीमा रोकिएको युभेन्टस तेस्रो स्थानमा छ ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०९:३६
Loading...