लेवान्डोस्की चम्किँदा उल्भ्सवर्गमाथि बार्यनको कमब्याक जित

काठमाडौं, पुस २
पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले केही मिनेटको बीचमा २ गोल गरेपछि जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखले कमब्याक जित निकालेको छ । गत राति भएको लिगको १२औं साताको खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली उल्भ्सवर्गमाथि २–१ को जित निकाल्न सफल भयो । ।

पाहुना टोली उल्भ्सवर्गले बार्यनविरुद्ध खेल सुरु भएको ५ मिनेटमै अग्रता लिएको थियो । बार्यनको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै म्याक्सिमिलानो फिलिपे सो गोल गरेका थिए । उनले भलीमा निकै सुन्दर गोल गरेका थिए । त्यसपछि बार्यनलाई बराबरी गोल गर्न पहिलो हाफको इन्जुरी समयसम्म पर्खनु परेको थियो ।

पहिलो हाफको थपिएको समयको पहिलो मिनेटमै लेवान्डोस्कीले किङ्स्ले कोमानको लामो पासमा बक्स भित्रबाट हेडिङमार्फत् गोल गरेका थिए । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ लेवान्डोस्कीले नै ५०औं मिनेटमा दोस्रो गोल गरे । यसपटक उनले बक्स भित्रबाट माथिल्लो बार च्यापेर प्रहार गरेको बललाई गोलकिपरले रोक्न सकेनन् । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्यनले २–१ ले जित्यो

अब यो जितसँगै बार्यनले लिगमा १२ खेलबाट २७ अंक जोडेको छ । ऊ अब समान खेलपछि लिग लिडर लेभरकुसेनभन्दा १ अंकले पछि छ । पराजित उल्भ्सवर्ग २१ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०८:५४
Loading...