टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा चढ्यो

काठमाडौं, पुस २
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुलले टोटनह्यामलाई हराएको छ । बिहीबार बिहान भएको लिगको १३औं साताको खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली टोटनह्यामलाई २–१ ले हराउँदै उसको शीर्ष स्थान खोसेको हो । लिभरपुलका लागि यो जित उपाधि होडमा लिड लिन महत्त्वपूर्ण हो ।

एनफिल्ड रंगशालामा लिभरपुललाई जिताउन खेलको अन्तिम समय ९०औं मिनेटमा विजयी गोल गर्ने ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्हो नायक बने । उनको दर्शनीय हेडिङ गोलको मदतमा लिभरपुलले लिग लिडरलाई हराउँदै आफू शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुल यो सिजन पहिलोपटक लिगको शीर्ष स्थानमा चढेको हो ।

लिभरपुलका लागि खेलको २६औं मिनेटमा मोहमद सालाहले पहिलो गोल गरेका थिए । उनले बक्स भित्रबाट हानेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । उनको बलामा टोटनह्यामका गोलकिपर लोरिसले रोक्ने मौका नै पाएनन् ।

तर, गोल खाएको ६ मिनेटमै पाहुना टोली टोटनह्यामले बराबरी गोल फर्कायो । ३३औं मिनेटमा सन हेङ मिनले पाएको लामो पास एक्लै लगेर वान भर्सेस वानमा सहजै गोल गरेपछि खेल १–१ को बराबरी भयो । र, त्यसपछि ८८औं मिनेटसम्म खेलमा कुनै गोल भएन । तर, टोटनह्याम अन्तिम समयमा सम्हालिन सकेन । । खेलको ९०औं मिनेटमा गोल खायो । कर्नर किकबाट आएको बलमा फर्मिन्होले कडा प्रहारमा हेडिङ गोल गरेपछि खेल लिभरपुलले २–१ ले जित्यो ।

अब यो जितपछि लिभरपुल १३ खेलबाट २८ अंक जोड्द शीर्ष स्थानमा चढेको छ । पराजित टोटनह्याम १३ खेलपछि २५ अंकका साथ दोस्रो स्थानमा झरेको छ । टोटनह्यामले यो सिजनको दोस्रो पराजय भोगेको हो ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०३:५६
Loading...