लिग लिडर रियल सोसिडाडमाथि बार्सिलोनाको कमब्याक जित

काठमाडौं, पुस २
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडमाथि कमब्याक जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर लिग लिडर टोलीमाथि २–१ को नतिजा निकालेको हो । बार्सिलोनालाई जिताउन डच मिडफिल्डर फ्रेन्की डे जोङले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक खेलमा पाहुना टोली सोसिडाडले पहिला खेलमा अग्रता लिएको थियो । खेलको २७औं मिनेटमा सोसिडाडका लागि विलियम जोसेले पोस्ट नजिकैबाट गोल गरेका थिए । उनले पोर्टुको क्रस पासमा गोल गरेका थिए । तर, सोसिडाडको अग्रता धेरैबेर टिकेन । गोल खाएको ३ मिनेटमै घरेलु बार्सिलोना खेलमा फर्कियो ।

खेलको ३१औं मिनेटमा जोर्डी अल्बाले बक्स भित्रबाट माथिल्लो बार च्याप्दै हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेपछि खेल १–१ भयो । अल्बाले निकै दर्शनीय गोल गरेका थिए । त्यस खेलको ४३औं मिनेटमा डे जोङले गोल गरे । सुरुमा सो गोललाई मान्यता नदिइए पनि पछि भिएआरमार्फत् पुष्टि गरेर गोलको मान्यता दिइएको थियो । सो गोलपछि बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

बार्सिलोनाको घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको सोसिडाडले खेलभरिमा कूल १४ पटक गोलका लागि मुभ बनायो । तर, उसका खेलाडी पटक–पटक फिनिसिङमा चुक्दा उसले बार्सिलोनालाई लामो समयपछि उसकै घरमा हराउने अवसर पनि गुमायो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले २–१ ल जित्यो ।

बार्सिलोनाले सोसिडाडविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, उसले पहिलो हाफ जति राम्रो खेल्यो, दोस्रो हाफमा त्यत्ति नै खराब खेल्यो । दोस्रो हाफमा बार्सिलोनालाई गोल गर्नभन्दा पनि सोसिडाडका आक्रमण र प्रहार रोक्न भ्याइनभ्याइ देखियो । खेलभरि बार्सिलोनाले कूल १४ प्रहार गर्दा मात्रै ४ प्रहार सही दिशामा थिए । सोसिडाडले कूल १२ प्रहार गर्दा ५ प्रहार सही दिशामा हानेको थियो ।

अब यो जितपछि बार्सिलोना १२ खेलबाट २० अंक बनाएर पाँचौं स्थानमा चढेको छ । पराजित सोसिडाड दोस्रो स्थानमा झरेको छ । उसले बार्सिलोनासँग २ गोल खाएपछि गोलअन्तरमा आधारमा ऊ दोस्रो स्थानमा झर्दा एथ्लेटिको मड्रिड अब लिगको शीर्ष स्थानमा चढेको छ । एथ्लेटिको र सोसिडाड दुवैको समान २६–२६ अंक छ । रियल मड्रिड पनि २६ अंकसहित तेस्रो स्थानमा । ताजा स्थितिमा पहिलो, दोस्रो र तेस्रो स्थानमा टोलीको समान २६–२६ अंक छ ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०३:३१
Loading...