रोनाल्डोले पेनाल्टी मिस गर्दा युभेन्टस एटलान्टासँग जितबाट चुक्यो

काठमाडौं, पुस २
प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेपछि इटालियन सिरी ए लिग फुटबलमा युभेन्टस आफ्नै घरमा एटलान्टासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको लिगको १२औं साताको खेलमा युभेन्टस आफ्नै घरेलु मैदानमा पाहुना टोली एटलान्टासँग १–१ को बराबरीमा रोकिएको हो ।

रोनाल्डोेले यसअघि दुई खेलमा लगातार ४ गोल पेनाल्टीमार्फत् गरेका थिए । तर, लगातार पाँचौं पेनाल्टी प्रहार गर्दा उनी चुके । उनले गत साता मात्रै च्याम्पियन्स लिगमा स्पेनिस बार्सिलोना र त्यसपछि लिगमै २ दिनअघि जेनोआविरुद्ध २–२ गोल पेनाल्टीमार्फत् गरेका थिए । तर, पाँचौं पेनाल्टी एटलान्टाविरुद्ध प्रहार गर्दा पोर्चुगिज खेलाडी चुके ।

घरेलु मैदानमा घरेलु टोलीका लागि खेलको २९औं मिनेटमा नयाँ खेलाडी फेडरिको किइजाले निकै दर्शनीय गोल गरेका थिए । उनले रोड्रिगो बेन्टाकुरले दिएको पास नियन्त्रणमा लिएर बक्स भित्रबाट एटलान्टाका डिफेन्डरलाई छलाउँदै सुन्दर प्रहारमा बललाई जाली चुमाएका थिए । उनले बार च्यापेर हानेको प्रहार एटलान्टाका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

तर, खेलको ५७औं मिनेटमा पाहुना टोली एटलान्टाले बराबरी गोल फर्कायो । युभेन्टसको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै रेमो फ्रेउलरले सुन्दर गोल गरेर खेल १–१ बनाए । लगत्तै खेलको ६१औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । तर, रोनाल्डोको प्रहार एटलान्टका गोलकिपरले रोकेपछि युभेन्टसले अग्रता लिन पाएन ।

त्यसपछि खेलभरि नै दुवै टोलीबाट थप गोल हुन सकेन । र, खेल १–१ को बराबरीमा सकियो । अब यो बराबरीपछि युभेन्टसले आफ्नै घरमा अंक गुमाएको छ । उसले १२ खेलबाट २४ अंक जोडेको छ । एटलान्टाले ११ खेलबाट १८ अंक जोडेको छ ।

यता, युभेन्टसका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलो पहिलो हाफमा घाइते भए । खेलको २२औं मिनेटमा एटलान्टाका दुई खेलाडीको ट्याकलमा परेका उनीको खुट्टामा चोट परेको छ । चोट बोकेपछि उनले केही समय प्रारम्भिक उपचारपछि खेल्न प्रयास गरे पनि नसकेपछि २७औं मिनेटमा मैदान छाडेका थिए ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०१:०८
Loading...