‘बालोन डिओर ड्रिम टिम’मा परेपछि रोनाल्डो र मेस्सीले के भने ?

एजेन्सी, पुस १
दुई दिनअघि चर्चित फ्रेन्च पत्रिका ‘फ्रान्स फुटबल’ ले फुटबल इतिहासका सर्वकालीन महान् खेलाडीहरूलाई समेटेर ‘बालोन डिओर ड्रिम टिम’ घोषणा गर्यो । १–३–४–३ को फर्मेसनमा घोषणा भएको इतिहासकै सर्वोत्कृष्ट प्लेइङ–११ मा ब्राजिलका महान् खेलाडी पेले र केही समयअघि मात्रै निधन भएका अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनादेखि हाल सक्रिय रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी पनि समेटिएका छन् ।

ऐतिहासिक ड्रिम टिममा ३ जना फरवार्डलाई समेट्टा रोनाल्डो र मेस्सीसँगै ब्राजिलियन रोनाल्डो नाजरियो पनि परेका छन् । बालोन डिओर ड्रिम टिममा परेपछि ६ पटकका बालोन डिओर विजेता मेस्सी र ५ पटकका बालोन डिओर विजेता रोनाल्डोले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया दिएका छन् । उनीहरूले सन्देशमार्फत् आफूहरू इतिहासकै सर्वोत्कृष्ट टिममा समावेश हुन पाउँदा सम्मानि भएको बताएका छन् भने छनौट गर्ने पत्रकार तथा समर्थकहरूलाई धन्यवाद दिएका छन् । रोनाल्डो र मेस्सी दुवैले बालोन डिओर अवार्डसहितका तस्बिरसँगै सन्देश दिएका छन् ।

लिओनल मेस्सीको सन्देश–

‘बालोन डिओरको ड्रिम टिम ११ मा समावेश हुन पाउनु मेरा लागि सम्मानको कुरा हो । मलाई यसमा छनौट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । र, यसमा समावेश हुने सबै खेलाडी र मनोनयनमा पर्नेलाई पनि म बधाई दिन चाहन्छु ।’

क्रिस्टियानो रोनाल्डोको सन्देश–

‘फ्रान्स फुटबलको सर्वकालीन ११ को हिस्सा हुन पाउँदा मैले आफूलाई सम्मानित अनुभूत गरेको छु । कस्तो अचम्मको ड्रिम टिम ….. । उनीहरू सबै मेरो सम्मान र प्रशंसाको योग्य छन् । र, म त्यस्ता असाधारण खेलाडीहरूमध्ये एक हुन पाउँदा गर्व गर्छु । धन्यवाद ।’

प्रकाशित मिति १ पुष २०७७, बुधबार १४:३६
Loading...