‘म आत्तिएको छैन, यही सिजन ला लिगा जिताएर देखाउँछु’

एजेन्सी, पुस १
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले यो सिजन ला लिगा जिताएर देखाउने दाबी गरेका छन् । हाल बार्सिलोना लिगमा खराब स्थितिमा रहे पनि आफूहरूले बाँकी खेलमा कमब्याक गर्ने डच म्यानेजरले बताए । बार्सिलोनाले आज बुधबार ला लिगामा आफ्नो घरेलु मैदानमा रियल सोसिडाडसँग खेल्दै छ ।

सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा भाग लिँदै कोम्यानले आफूहरू अहिले नै नआत्तिएको बताए । बार्सिलोना ला लिगामा हाल ११ खेलपछि १७ अंक बनाएर आठौं स्थानमा छ । बार्सिलोना ताजा स्थितिमा लिग लिडर रियल सोसिडाड, एथ्लेटिको मड्रिड र रियल मड्रिडभन्दा समान ९–९ अंकले पछि छ ।

‘लिगमा हामी अहिले जुन अवस्थामा छौं, त्यो हाम्रा लागि राम्रो होइन । तर, अवस्था चिन्ताजनक पनि छैन । लिगा अझै थुप्रै खेल बाँकी छन्,’ कोम्यानले भने, ‘मलाई विश्वास छ, बार्सिलोनाले चाँडै कमब्याक गर्छ । र, आफ्नो पोजिसनमा फर्किन्छ ।’

कोम्यानले आफूहरू धैर्यवान् हुने र अघि बढ्ने भन्दै बार्सिलोनालाई आफूले यसै सिजन ला लिा जिताएर देखाउने दाबी गरे । ‘म आत्तिएको छैन । र, टिमले धैर्य गर्नुपर्छ । म यो कठिन अवस्था छिचोलेर यसै सिजन लिग जिताउन प्रतिबद्ध छु । हामीलाई समय दिनुहोस् र होर्नुहोस् ।’

च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब पिएसजीसँग ड्र परेको विषयमा कोम्यानले धेरै बताउन चाहेनन् । ‘यो हामी दुवै पक्षका लागि कठिन ड्र हो । यसका लागि तयारी गर्न र सोच्न धेरै समय बाँकी छ । अहिले म योभन्दा बढी बोल्न चाहन्नँ,’ कोम्यानले थपे ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १४:२२
Loading...