सिरी ए लिगमा आज युभेन्टस र एटलान्टाको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, पुस १
इटालियन सिरी ए लिग फुटबलमा आज एकै दिन विभिन्न ७ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा युभेन्टस र एटलान्टाको रोमाञ्चक खेल पनि हुँदैछ । लिगको १२औं साताको खेलमा आज दुई बलिया टोलीहरू आमनेसामने हुन लागेका हुन् । यो खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युभेन्टस ११ खेलपछि २३ अंक बनाएर चौथो स्थानमा छ । ऊ अझै समान खेलपछि लिग लिडर एसी मिलानभन्दा ४ अंकले पछि नै छ । यता, आज युभेन्टसको घरेलु मैदानमा उत्रिन लागेको एटलान्टा हाल १० खेलपछि मात्रै १७ अंक बनाएर नवौं स्थानमा छ । ताजा स्थितिमा एटलान्टा युभेन्टसभन्दा ५ स्थान र ६ अंकले पछि छ ।

आज घरेलु मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा सबै खेलाडी उपलब्ध हुनेछन् । पछिल्ला ५ खेलमा अपराजित रहेको युभेन्टस आज घरमा हुने यो खेल जितेर अंक तालिकामा अवस्था सुधार गर्ने दाउमा छ । उसले खेलेका पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर २ खेल बराबरी गरेको छ । यता, एटलान्टाले भने पछिल्ला ५ खेलमध्ये मात्रै २ खेल जितेर २ खेल बराबरी गर्दा १ खेल हारेको छ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १३:०८
Loading...