आज राति मेस्सीलाई महान् पेलेको दुर्लभ रेकर्ड तोड्ने अवसर

काठमाडौं, पुस १
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी ब्राजिलका महान् खेलाडी पेलेको एक दुर्लभ रेकर्ड तोड्ने नजिक पुगेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय मेस्सी पेलेले एक क्लबका लागि गरेको इतिहासकै सर्वाधिक गोलको रेकर्ड तोड्नबाट अब मात्रै दुई कदम टाढा छन् ।

पेलेले आफ्नो करिअर दौरान ब्राजिलियन क्लब सान्तोषका लागि करिअरभरिमा कूल ६४३ गोल गरेका थिए । उनले आफ्नो सिंगै करिअर घरेलु क्लब सान्तोषमा बिताउँदै ६५६ खेलबाट ६४३ गोल गरेका थिए । उनले कूल १९ सिजन सान्तोषबाट खेलेका थिए । पेलेले सन् १९५६ मा व्यावसायिक करिअर सान्तोषबाट थालेर सोही क्लबबाट १९७४ मा करिअर अन्त्य गरेका थिए ।

फुटबल इतिहासमा आज कुनै पनि खेलाडीले एकै क्लबका लागि गरेको सबैभन्दा धेरै गोलको रेकर्ड पेलेका नाममा छ । तर, अब सो रेकर्ड बराबरी गर्न मेस्सीबाट १ गोल र रेकर्ड तोड्नबाट मात्रै २ गोलले टाढा छन् । मेस्सीले बार्सिलोनाका लागि हालसम्म कूल ६४२ गोल गरिसकेका छन् । उनले कूल ७४६ खेलबाट ६४२ गोल गरेका हुन् । मेस्सीले सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका छन् ।

बार्सिलोनाले ला लिगाअन्तर्गत आज राति आफ्नो घरेलु मैदानमा लिग लिडर रियल सोसिडाडविरुद्ध खेल्दा मेस्सी पनि टोलीमा हुनेछन् । सो खेलमा मेस्सीले २ गोल गरे उनले पेलेको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउनेछन् भने १ गोल गर रेकर्ड बराबरी गर्नेछन् । जारी सिजन मेस्सीले बार्सिलोनाका लागि १५ खेलबाट ८ गोल मात्रै गरेका छन् । उनका ८ गोलध्ये ५ गोल पेनाल्टीमार्फत् भएका छन् ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १२:४८
Loading...