आज शीर्ष स्थानको रियल सोसिडाड र आठौं स्थानको बार्सिलोना भिड्दै

काठमाडौं, पुस १
स्पेनिस ला लिगा फुटबलमा आज एक खेल हुँदैछ, जहाँ बार्सिलोना र रियल सोसिडाड आमनेसामने हुँदैछन् । १९औं साताका लागि तय भएको खेललाई आज खेलाउन लागिएको हो । रियल मड्रिड भर्सेस एथ्लेटिक बिल्बाओ र बार्सिलोना भर्सेस रियल सोसिडाडको १९औं राउन्डको खेल चाँडै खेलाउन लागिएको हो ।

हाल लिगमा बार्सिलोना ११ खेलपछि मात्रै १७ अंक बनाएर आठौं स्थानमा रहेको छ । ऊ ताजा स्थितिमा पहिलो स्थानको रियल सोसिडाड, दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडभन्दा ठीक ९ अंकले पछि छ । टप–३ मा रहेका ३ वटै टोलीको समान २६–२६ अंक रहेको छ ।

आजको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । आज बार्सिलोनाको मैदानमा उत्रिन लागेको सोसिडाड यतिबेला लिगको शीर्ष स्थानमा छ । यो सिजन उत्कृष्ट लयमा रहेको सोसिडाडले आज बार्सिलोनालाई कडा टक्कर दिने पक्का छ । सोसिडाडले हालसम्म १३ खेल खेलिसक्दा ७ खेल जितेर ५ खेल बराबरी गरेको छ भने मात्रै १ खेल हारेको छ ।

सोसिडाडको तुलनामा बार्सिलोना निकै कमजोर स्थितिमा छ । बार्सिलोनाले ११ खेल सकिँदा मात्रै ५ खेल जित्दा २ खेल बराबरी गरेर ४ खेल हारेको छ । यो सिजन बार्सिलोनाले सोसिडाडभनदा ३ खेल बढी हारेको छ । गोल गर्ने मामिलामा पनि सोसिडाड बार्सिलोनाभन्दा अगाडि छ । सोसिडाडले हालसम्म विपक्षीविरुद्ध कूल २३ गोल गरेको छ भने बार्सिलोनाले मात्रै २१ गोल गरेको छ । सोसिडाडले हालसम्म मात्रै ६ गोल खाँदा बार्सिलोनाले भने ११ गोल खाएको छ ।

यो तथ्यांक हेर्दा हालकै स्थितिमा सोसिडाड बार्सिलोनाभन्दा निकै मजबुत देखिन्छ । समग्र प्रदर्शन र तथ्यांकका आधारमा पनि बार्सिलोना कमजोर अवस्थामा छ । यसअघि क्याम्प नोउमै भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को कठिन जित निकालेको थियो ।

बार्सिलोनाले लिगका पछिल्ला ५ खेलमध्ये ३ खेल जितेर २ खेल हारेको छ । यता, सोसिडाड भने पछिल्ला खेलमा अपराजित छ । उसले २ खेल जित्दा पछिल्ला ३ खेलमा लगातार बराबरीमा रोकिएको छ । सोसिडाड आज बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएर शीर्ष स्थानमा अग्रता बढाउने दाउमा रहेको छ । यता, बार्सिलोनाका लागि पनि आजको खेल निकै दबाबपूर्ण हुनेछ । यो खेल जिते बार्सिलोना पाँचौं स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १०:५५
Loading...