चेल्सीलाई ठूलो झट्का : इन्जुरी समयमा गोल गर्दै उल्भ्सले हरायो

काठमाडौं, पुस १
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उपाधि होडमा रहेको चेल्सीले सिजनको तेस्रो हार व्यहोरेको छ । गत राति भएको लिगको १३औं साताको खेलमा चेल्सीलाई घरेलु टोली उल्भ्सले २–१ ले स्तब्ध बनायो । इन्जुरी समयमा सम्हालिन नसक्दा चेल्सीले गोल खाएर महत्त्वपूर्ण खेल गुमायो ।

यो हारपछि चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा चढ्ने मौका पनि गुमाएको छ । यसँगै चेल्सीले लिगमा लगातार दोस्रो हार व्यहारेको हो । उसले पछिल्ला ५ खेलमा मात्रै २ खेल जितेर २ खेल हर्दा १ खेल बराबरी गरेको छ ।

अवे मैदानमा उल्भ्सविरुद्ध चेल्सीले खेलको ४९औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । सो गोल ओलिभर जिरुउडले गरेका थिए । चेल्सी सोही अग्रता लिएर अघि बढेको थियो । तर, खेलको ६६औं मिनेटमा ड्यानिएल पोडेन्सले गोल गरेर खेल १–१ बनाए ।

सो गोलपछि खेल बराबरी नजिक पुगेको थियो । तर, चेल्सी इन्जुरी समयमा सम्हालिन सकेन । ९० मिनेटपछि थप समयको पाँचौं मिनेटमा घरेलु टोलीका पेड्रो नेटोले गोल गरेपछि चेल्सी स्तब्ध बन्यो । र, खेल उल्भ्सले २–१ ले जित्यो ।

अब यो जितपछि उल्भ्स १३ खेलपछि २० अंक बनाएर १०औं स्थानमा चढेको छ । पराजित चेल्सी १३ खेलपछि २२ अंकका साथ पाँचौं स्थानमा सीमित भएको छ । हाल अंक तालिकामा छैटौं स्थानको म्यानचेस्टर सिटीदेखि १०औं स्थनको उल्भ्ससम्म ५ टोलीको समान २०–२० अंक छ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार १०:००
Loading...