बेन्जेमा चम्किँदा रियल मड्रिडको शानदार जित : शीर्ष स्थानमा अंक बराबरी

काठमाडौं, पुस १
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले उत्कृष्ट जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा रियलले पाहुना टोली एथ्लेटिक बिल्बाओमाथि ३–१ को जित निकाल्न सफल भयो । रियलको जितमा फ्रेन्च फेरवार्ड करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे ।

टिम ‘बी’ को घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको खेलमा रियलका लागि पहिलो हाफको इन्जुरी समयमा टोनी क्रुसले भिनिसियस जुनियरको पासमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले बक्स बाहिरबाट लो सटमा बडा शानदार गोल गरेका थिए । तर, दोस्रो हाफ सुरु भएपछि खेलको ५२औं मिनेटमा बिल्बाओका राउल गार्सियाले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि दबाबमा परेको रियलले लगातार आक्रामक खेल पस्किए पनि उसलाई दोस्रो गोल गर्न ७४औं मिनेटसम्म पर्खिनु परेको थियो । यसपटक ड्यानी कार्भाहालको पासमा बेन्जेमाले उत्कृष्ट हेडिङ गोल गरेर रियललाई जितको बाटो देखाएका थिए ।

त्यसपछि रियलका लागि ९० मिनेटपछि इन्जुरी समयमा बेन्जेमाले लुका मोड्रिकको पासमा बक्स भित्रबाट सहजै गोल गर्दा खेल रियलले ३–१ ले जित्यो । अब यस खेलमा गरेको २ गोलसँगै बेन्जेमाले जारी सिजन ला लिगामा ६ गोल गरेका छन् । उनी दोस्रो स्र्वाधिक गालकर्ता हुन् ।

यो जितपछि रियलले १३ खेलबाट कूल २६ अंक जोडेको छ । उसले शीर्ष स्थानको रियल सोसिडाड र दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । अब सोसिडाड, एथ्लेटिको र रियलको खातामा समान २६–२६ अंक छ । तर, दोस्रो स्थानको एथ्लेटिकोले दुई खेल कम खेलेको छ । यो जितसँगै रियलले बार्सिलोनालाई ९ अंकले पछि पारेको छ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार ०८:३४
Loading...