युभेन्टस जाने विषयमा हल्यान्डले पहिलोपटक मुख खोले

एजेन्सी, मंसिर ३०
जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड अर्लिङ हल्यान्डले इटालियन क्लब युभेन्टस सरुवा हुने विषयमा आफ्नो धारणा राखेका छन् । नर्वेका २० वर्षीय युवा स्टारले हालै एक अन्तर्वार्तामा कुरा गर्दै आफूले युभेन्टस सरुवाका लागि विगतका दिनमा कहिल्यै पनि छलफल नगरेको बताएका छन् ।

गत समर सिजनमा नर्वेका स्टार युभेन्टस जाने चर्चा सरुवा बजारमा थियो । उनले युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आइडल मान्ने भएकाले रोनाल्डोसँग खेल्न उनले युभेन्टस सरुवाको बाटो रोज्न सक्ने चर्चा थियो । तर, त्यस्ता चर्चाको हल्यान्ड स्वयंले खण्डन गरेका छन् ।

‘मैले पनि साथीभाइ र मिडियाबाट थाहा पाएँ । तर, मैले त कहिल्यै पनि युभेन्टस सरुवाको विषयमा कसैसँग पछि छलफल नै गरिनँ,’ हल्यान्डले भने, ‘प्रस्ताव आउँथ्यो भने मे के गर्थें त्यसैबेला थाहा हुन्थ्यो । तर, मसँग औपचारिक रूपमा कसैबाट त्यो कुरा आएन । यस विषयमा मैले धेरै जवाफ के दिनु ?’

हल्यान्डले आफू हाल डर्टमुन्डमा खुसी रहेको र नयाँ–नयाँ तथ्यांक बन्दै जाँदा आफू खुसी रहेको बताए । ‘म अहिले डर्टमुन्डको खेलाडी हुँ । म यहाँ एकदमै खुसी छु । यहाँ बिस्तारै नयाँ–नयाँ तथ्यांक बन्दा म खुसी छु,’ हल्यान्डले भने, ‘भविष्यमा के हुन्छ भन्न सक्दिनँ । तर, अहिले मेरो दिमागमा डर्टमुन्ड मात्रै छ ।’

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार २१:५०
Loading...