अन्तिम १६ मा बार्सिलोना प्रतिस्पर्धी परेपछि मेस्सीलाई नेइमारले पठाए यस्तो सन्देश

एजेन्सी, मंसिर ३०
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी भिड्दैछन् । अघिल्लो दिन भएको ड्रअनुसार युरोपका दुई ठूला टोली यसपटक अन्तिम १६ मै भिड्ने भएका हुन् । पिएसजी गत सिजनको फाइनालिस्ट टोली हो भने बार्सिलोना सन् २०१५ मा च्याम्पियन बनेयता पुनः फाइनल नै पुग्न सकेको छैन ।

आफ्नो टोली पिएसजीले अन्तिम १६ मै बार्सिलोना प्रतिस्पर्धी पाएपछि स्टार फरवार्ड ब्राजिलियन नेइमारले पूर्वसहकर्मी लिओनल मेस्सीलाई सन्देश पठाएका छन् । नेइमारले पूर्वक्लबविद्ध उत्रिनुअघि पूर्वसहकर्मीमा नाममा सामाजिक सन्जाल ट्वीटरमार्फत् सन्देश पठाएका हुन् ।

नेइमार सन् २०१७ मा बार्सिलोना छाडेर विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए । त्यसयता बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगमा यसैपटक आमनेसामने हुन लागेका हुन् । तर, नेइमारले बार्सिलोना छाड्नुअघिको सिजनमा बार्सिलोना र पिएसजी अन्तिम १६ मा भिडेका थिए ।

त्यसबेला नेइमार बार्सिलोनामै थिए । र, नेइमारसहितको बार्सिलोनाले पिएसजीविरुद्ध दोस्रो लेगमा ६–१ को ऐतिहासिक कमब्याक जित निकाल्दै अर्को चरण पुगेको थियो । पहिलो लेग पिएसजीसँग ४–० ले हारेको बार्सिलोनाले क्याम्प नोउमा ६–१ को नतिजा निकाल्दा नेइमार नायक बनेका थिए । तर, त्यो सिजन बार्सिलोनालाई इटालियन युभेन्टसले अन्तिम आठबाट ३–० ले हराउँदै आउट गरायो । लगत्तै त्यो सिजन सकिनासाथ नेइमारले अप्रत्यासित रूपमा पिएसजी जान बार्सिलोना छाडे ।

सन् २०१३ देखि नेइमारले बार्सिलोनामा खेल्दा मेस्सीसँग निकै नजिक थिए । दुईजनाबीच मैदानभित्र र बाहिर पनि घनिष्ठ सम्बन्ध थियो । दुईजनाले एकअर्कालाई ‘दाजुभाइ’ भनेर सम्बोधन गर्छन् । नेइमारले बार्सिलोना छाडेपछि पनि यी दुई खेलाडीबीच सुमधुर समबन्ध रहेको छ ।

सिजन २०१६–१७ मा बार्सिलोनाबाट पिएसजीविरुद्ध खेलेका नेइमार र मेस्सी सिजन २०२०–२१ मा एकअर्काविरुद्ध प्रतिस्पर्धी भएर भिड्दैछन् । यस ड्रलाई अन्तिम १६ को सबैभन्दा खतरनाक मानिएको छ । आफ्नो पूर्वक्लबविरुद्ध निकै चाँडो भिड्नुपर्ने भएपछि नेइमारले ट्वीटरमार्फत् सन्देश लेख्दै मेस्सीलाई चाँडै भेट्ने भनेका छन् । बालोन डि‘ओर समारोह दौरान मेस्सीसँग अंकमाल गर्दै गरेको एक तस्बिर पोस्ट गरेर नेइमारले एक लाइनमा लेखेका छन्– ‘चाँडै भेटौंला, मेरो साथी ।’

नेइमार हाल चोटसँग जुधिरहेका छन् । दुई दिनअघि उनी लिग वानमा लियोनविरुद्ध खल्नेक्रममा घाइते भएका थिए । खेलको ९०औं मिनेटमा स्ट्रेचरमा बसेर रुँदै मैदान छाडे पनि नेइमारले सन् २०२१ को फेब्रुअरीमा हुने बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । घुँडाको जोर्नीमा चोट बाकेका नेइमारको उपचार अप्रेसनबिनै हुने भएपछि उनले पूर्वक्लबविरुद्ध बहुप्रतीक्षित खेल खेल्ने भएका हुन् ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार २०:४८
Loading...