१३ बालोन डि‘ओर विजेताहरू ‘इतिहासकै सर्वोत्कृष्ट फरवार्ड’ !

काठमाडौं, मंसिर ३०
विश्व फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित बालोन डि‘ओर अवार्ड आयोजक चर्चित फ्रेन्च म्यागेजिन ‘फ्रान्स फुटबल’ले फुटबल इतिहासकै महान् खेलाडीहरूलाई समेटेर ड्रिम घोषणा गरेको छ । ‘बालोन डि‘ओर ड्रिम टिम’ नाम दिइएको सो टिमको ३ जना फरवार्डमा ब्राजिलका रोनाल्डोे नाजरियो, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी परेका छन् ।

फुटबल समर्थकहरूको भोट र विभिन्न देशका १४० जना खेल पत्रकारको मूल्यांकन तथा मतका आधारमा घोषणा भएको ड्रिम टिममा यो समय पनि सक्रिय रहेका रोनाल्डो र मेस्सीलाई पनि समर्थक तथा पत्रकारले छानेका हुन् । म्यागेजिनले १–३–४–३ को फर्मेसनमा ड्रिम टिम घोषणा गर्दा ५ पटकका बालोन डि‘ओर विजेता पोर्चुगलका रोनाल्डो र ६ पटकका बालोन डि‘ओर विजेता अर्जेन्टिनाका मेस्सीसँगै दुईपटकका बालोन डि‘ओर विजेता ब्राजिलका रोनाल्डो परेका हुन् ।

समर्थक तथा पत्रकारले खेलाडीको समग्र करिअर, सफलता, उपाधि र व्यक्तिगत तथ्यांकका आधारमा ड्रिम घोषणा गर्दा विगत १५ वर्षदेखि एकअर्काविरुद्ध प्रतिस्पर्धी भएर खेलिरहेका रोनाल्डो र मेस्सी दुवैलाई ऐतिहासिक टिममा देख्न सकिन्छ । यी दुई खेलाडीले विगतमा १० वर्ष लगातार आलोपालो बालोन डि‘ओर जितेका थिए । तर सन् २०१९ मा मेस्सीले छैटौंपटक जितेपछि रोनाल्डो पछि परेका हुन् । बेस्ट फरवार्डमा परेका ३ जना खेलाडीले समग्रमा कूल १३ बालोन डि‘ओर जितेका छन् ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १६:४६
Loading...