इतिहासकै महान् खेलाडीलाई समेटेर ‘बालोन डि‘ओर ड्रिम टिम’ घोषणा

एजेन्सी, मंसिर ३०
विश्व फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित अवार्ड आयोजनक चर्चित फ्रेन्च म्यागेजिन ‘फ्रान्स फुटबल’ले फुटबल इतिहासकै सर्वकालीन् महान् खेलाडीहरूलाई समेटेर बेस्ट प्लेइङ–११ घोषणा गरेको छ । उसले यसलाई ‘बालोन डि‘ओर ड्रिम टिम’ नाम दिएको छ । इतिहासकै महान् टिम फुटबल समर्थकको भोट र विभिन्न देशका १४० जना खेल पत्रकारको मूल्यांकन तथा मतका आधारमा घोषणा गरिएको आयोजकले जनाएको छ ।

सो पत्रिकाले ऐतिहासिक टिम १–३–४–३ को फर्मेसनमा ड्रिम टिम घोषणा गरेको हो । सो टोलीमा विश्व फुटबलका दुई महान् खेलाडी ब्राजिलियन पेले र अस्ति भर्खर दिवंगत भएका अर्जेन्टिनी डिएगो म्याराडोनासहित ५ पटकका बालोन डि‘ओर विजेता पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ६ पटकका बालोन डि‘ओर विजेता लिओनल मेस्सीसहितका खेलाडी समेटिएका छन् ।

फ्रान्स म्यागेजिनले रक्षापंक्तिमा ३ जना र मिडफिल्डमा ४ जना राखेको छ । त्यसैगरी, फ्रन्ट लाइनमा ३ जना राखेको छ । मिडफिल्डमा डिएगो म्याराडोना, पेले, बार्सिलोनाका पूर्वखेलाडी स्पेनिस जाभी हर्नान्डेज र जर्मन खेलाडी लोथर माथेउस रहेका छन् ।

फ्रन्ट लाइनमा ब्राजिलियन रोनाल्डो नाजरियोसँगै अर्जेन्टिनी मेस्सी र पोर्चुगिज रोनाल्डोलाई समेटिएको छ । उता, डिफेन्स लाइनमा ब्राजिलियन काफु, जर्मन फ्रेन्च बेकेनबाउर र इटालियन पाओलो माल्दिनी रहेका छन् । गोलकिपरमा लिजेन्ड रसियन लेभ यासिनलाई इतिहासकै महान् गोलकिपरका रूपमा राखिएको छ ।

पत्रिकाले यसअघि विभिन्न पोजिसनका लागि प्रारम्भिक मनोनयन सार्वजनिक गरेर फ्यानको भोट र पत्रकारको मतका आधारमा अन्तिम टिम घोषणा गरिएको हो ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १३:३८
Loading...