लिभरपुलका जोटा लामो समय मैदान बाहिर

काठमाडौं, मंसिर ३०
इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिएगो जोटा घाइते भएका छन् । चोटका कारण पोर्चुगिज खेलाडीले दुई महिना मैदानबाहिर बस्नुपर्ने भएको प्रशिक्षक जोर्गेन क्लोपले पुष्टि गेका छन् ।

च्याम्पियन्स लिगमा गत बुधबार लिभरपुल र मिड्ज्याल्यान्डबीचको खेल दौरान जोटा घाइते भएका हुन् । सो खेल १–१ को बराबरीमा सकिएको थियो । यसअघि जोटाको अप्रेसन गर्नुपर्ने अनुमान गरिए पनि चेकजाँचपछि उनको अप्रेसन नगरी उपचार सम्भव हुने भएको हो ।

‘डाक्टरहरूले सबै प्रकारले जोटाको चोटलाई हेरिरहेका छन् । मलाई प्राप्त जानकारीअनुसार उनको अप्रेसन गर्नु आवश्यक छैन । तर, उनी कहिलेसम्म बाहिर रहन सक्छन्, हामी भन्न सक्दैनौं । दुई महिना उनलाई फिट हुन लाग्न सक्छ,’ क्लोपले भने ।

अहिले लिभरपुलमा चोटको पिरलो छ । जोटासँगै एकै खेलमा दोस्रो रोजाइका डिफेन्डर कोस्तस मिकस पनि घाइते भएका थिए । यता, भर्जिल भान डाइक लामो समयका लागि मैदानबाहर छन् भने जोए गोमेज पनि घाइते अवस्थामा छन् ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १२:४०
Loading...