ला लिगामा आज रियल मड्रिड र एथ्लेटिक बिल्बाओ भिड्दै

काठमाडौं, मंसिर ३०
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । आज रियल मड्रिड र एथ्लेटिक बिल्बाओले लिगको १९औं साताको खेल खेल्न लागेका हुन् । हाल लिगमा ११औं, १२औं र १३औं साताका खेल चलिरहेका छन् । तर, पछि १९औं साताका खेल हुने समयमा ४ टोलीले अर्को प्रतियोगिता खेल्ने भएकाले कार्यतालिका मिलाउन त्यसबेलाको खेल अहिले नै खेलाउन लागिएको हो ।

रियल मड्रिड, एथलेटिक बिल्बाओ, बार्सिलोना र रियल सोसिडाडले १९औं साताको खेल निर्धारित तालिकाभन्दा पहिल्यै खेल्न लागेका हुन् । त्यसैअनुसार स्पेनिस फुटबल संघले खेल तालिका तय गरेको छ ।

आजको खेल खेल्न रियलले बिल्बाओलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ठीक २ः४५ बजेबाट सुरु हुनेछ । यो खेल रियलको टिम ‘बी’ को घरेलु रंगशालामा अल्फ्रेडो डे स्टेफानो रंगशालामा हुनेछ ।

हाल अंक तालिकामा रियल १२ खेलपछि रियल २३ अंक बनाएर तेस्रो स्थानमा छ । बिल्बाओ १२ खेलपछि १४ अंक बनाएर १२औं स्थानमा छ । आज रियलले बिल्बाओलाई पराजित गर्न सके उसले लिग लिडरद्वय रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गर्नेछ ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १२:०५
Loading...