अन्तिम १६ मै पिएसजी प्रतिस्पर्धी परेपछि कोम्यानको यस्तो प्रतिक्रिया

एजेन्सी, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा यस सिजन लिओनल मेस्सीको टिम बार्सिलोनाले अन्तिम १६ मै बलियो टोली फ्रेन्च क्लब पिएसजी प्रतिस्पर्धी पाएको छ । आज युइएफएले सार्वजनिक गरेको नकआउट चरणको ड्र अनुसार दुई बलिया टोलीले अन्तिम १६ बाट अघि बढ्न अब एकअर्कालाई हराउनुपर्ने भएको छ । यस खेललाई राउन्ड १६ कै सबैभन्दा कडा ड्र मानिएको छ ।

यो ड्रसँगै पिएसजीका ब्राजिलियन स्टार नेइमारले आफ्नो पूर्वक्लब बार्सिलोना तथा पूर्वसहकर्मी लिओनल मेस्सीविरुद्ध पहिलोपटक च्याम्पियन्स लिगमा सामना गर्नेछन् । पिएसजीबाट नेइमार, केलियन एमबाप्पे, माउरो इकार्डीसहितका खेलाडीको टिमले यसपटक मेस्सीसहितको टोलीसँग भिड्नेछ ।

अन्तिम १६ मै पिएसजीसँग खेल्नुपर्ने भएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सो ड्रबारे प्रतिक्रिया दिएका छन् । ड्रपछि उनले स्पेनिस पत्रिका ‘मार्सा’ सँग कुरा गर्दै अन्तिम १६ को खेलबारे बताए । उनले आफूहरूलाई कठिन ड्र पर्छ भन्ने थाहा भएको बताए । ‘हामीलाई कठिन ड्र पर्छ भन्ने मलाई थाहा थियो । पिएसजी हामीले सोचेकै टिम हो । लिभरपुल, बार्यन म्युनिख, म्यानचेस्टर सिटी र पिएसजीमधये एक हामीले सोचेका थियौं । त्यही भयो,’ कोम्यालने भने, ‘मलाई लाग्छ– हामीले अन्तिम १६ कै सबैभन्दा कठिन ड्र पाएका छौं । यो दुवै पक्षका लागि कठिन ड्र हो ।’

कोम्यानले आफूहरूलाई च्याम्पियन्स लिगका लागि तयारी गर्न प्रशस्तै समय रहेको बताउँदै तत्कालै ला लिगामा ध्यान रहेको बताए । ‘च्याम्पियन्स लिगका लागि तयारी गर्न, सोच्न प्रशस्तै समय छ । अहिले हामीले त्यसलाई यथावत राखेर लिगका खेलमा ध्यान केन्द्रित गर्नुपर्छ । जब हामी च्याम्पियन्स लिगमा फर्किन्छौं, त्यसबेलासम्ममा लिगाको लिगमा शीर्ष स्थानमा उक्लिने हाम्रो लक्ष्य हुनेछ ।’

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार २१:५५
Loading...