नेइमारको अप्रेसन गर्नु नपर्ने : चोटबारे क्लबले दियो यस्तो अपडेट

एजेन्सी, मंसिर २९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारलाई गम्भीर चोट नरहेको क्लबले पुष्टि गरेको छ । आज पिएसजीले अफिसियल जानकारी दिँदै पहिलो चरणको चेकजाँचपछि नेइमारको अप्रेसन गर्नु नपर्ने जनाएको छ । यसअघि नेइमार गम्भीर चोटबाट पीडित बनेकोमा अप्रेसन गर्नुपर्ने हो कि भन्ने चिन्ता थियो ।

गत राति लिग वान फुटबलमा घरेलु मैदानमा पाहुना टोली लियोनसँग खेल्नेक्रममा नेइमार घाइते भएका थिए । उनीमाथि खेलको ९०औं मिनेटमा लियोनका खेलाडी थियाो मेन्डेजले खराब ट्याकल गरेका थिए । नेइमारको घुँडाको जोर्नीमा चोट परेको थियो । चोट बोकेपछि नेइमारले स्ट्रेचरमा बसेर रुँदै मैदान छाडेका थिए ।

तर, पहिलो चरणको जाँचपछि नेइमारको जोर्नी नफुटेको–नभाँचिएको मेडिकल टिमले पुष्टि गरेको छ । यसको अर्थ उनको उपचारका लागि अप्रेसन नै गर्नु पर्दैन । यससँगै २८ वर्षीय नेइमारलाई अप्रेसनबिनै उपचार थालिनेछ । तर, नेइमारको मंगलबार पुनः बिस्तृत जाँच गरिनेछ ।

त्यसपछि मात्रै नेइमारको चोटबारे सबै जानकारी हुनेछ । र, उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने पनि थाहा लाग्नेछ । फ्रेन्च मिडियाले अप्रेसन गर्नु नपर्ने अवस्थामा नेइमार दुईदेखि तीन साताको बीचमा मैदान फर्किनका लागि फिट हुने खबर छापेका छन् ।

बार्सिलोनाविरुद्ध खेल्न नेइमार फिट हुने

गम्भीर चोट नरहेको र अप्रेसन गर्नु नपर्ने भएपछि नेइमारले फेब्रुअरीमा पूर्वक्लब बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को खेल खेल्ने करिब–करिब पक्का छ । आज भएको ड्रअनुसार पिएसजीले अन्तिम आठमा जान स्पेनिस टोेलीको सामना गर्नेछ । पिएसजी र नेइमारका लागि सो खेल निकै महत्त्वपूर्ण हो । यस खेललाई त अन्तिम १६ राउन्डकै सबैभन्दा ठूलो खेल मानिएको छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार २१:१९
Loading...