नयाँ कोसेढुंगा पार : मेस्सीका नाममा ९००

काठमाडौं, मंसिर २९
स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले क्लब करिअरमा नयाँ कोसेढुंगा पूरा गरेका छन् । गत राति ला लिगामा लेभान्टेविरुद्ध १ गोल गरेपछि मेस्सीले बार्सिलोनाको करिअरमा ९०० गोलमा योगदानको कोसेढुंगा पूरा गरेका हुन् । क्याम्प नोउ रंगशालामा भएको खेलमा मेस्सीले बार्सिलोनाको जितमा १ मात्रै निर्णायक गोल खेलको ७६औं मिनेटमा गरेका थिए ।

मेस्सीले अघिल्लो साता नै ला लिगामा क्याडिजविरुद्धको खेलमा यो कोसेढुंगा पूरा गर्ने अवसर थियो । तर, क्याडिज र त्यसपछि च्याम्पियन्स लिगमा युभेन्टससँगको खेलमा पनि गोल र असिस्टविहीन बनेपछि उनले ९०० गोल योगदान पूरा गर्न पर्खिनु परेको थियो ।

मेस्सीले बार्सिलोनामा आजसम्म गरेको कूल गोल र असिस्टसमेत गरी कूल ९०० गोलमा सोझै योगदान दिएका छन्, जुन क्लब इतिहासमै रेकर्ड हो । सन् २००४ देखि बार्सिलोनामा खेलिरहेका मेस्सीका नाममा यसअघि ८९९ गोलमा योगदान थियो ।

गोल प्लस असिस्ट गरेर ९०० गोलको योगदान पूरा गर्न मेस्सीले सबैखाले प्रतियोगितामा कूल ६४२ गोल गरेका छन् भने २५८ गोलमा असिस्ट प्रदान गरेका छन् । यसक्रममा उनले कूल ७४५ खेल खेलेका छन् । समग्रमा मेस्सीले ७४५ खेलबाट ९०० गोल प्लस असिस्ट गरेका हुन् ।

यता, गत रातिको १ गोलसँगै मेस्सीले १० नम्बर जर्सी लगाउन थालिकन बार्सिलोनामा कूल ६०० गोलको आँकडा पनि पूरा गरेका छन् । बार्सिलोनाले अफिसियल ट्वीटरबाट मेस्सीलाई यसका लागि बधाई समेत दिएको छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १९:५३
Loading...