नेइमारलाई छाडेन चोटले : स्ट्रेचरमा बसेर रुँदै मैदान छाडे

काठमाडौं, मंसिर २९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन फरवार्ड नेइमार पुनः गम्भीर चोटबाट पीडित बनेका छन् । गत राति लिग वानअन्तर्गत आफ्नो घरेलु मैदानमा खेल्नेक्रममा नेइमार घाइते भएका हुन् । पिएसजी सो खेलमा आफ्नै घरमा ०–१ ले हारेको थियो ।

चोटग्रस्त बनेपछि नेइमारले खेलको ९०औं मिनेटमा रुँदै मैदान छाड्नु परेको थियो । खेलभरिमा नेइमारमाथि कूल ६ पटक फउल भएका थिए । खेलको ९०औं मिनेटमा उनीमाथि भएको छैटौं अर्थात् अन्तिम फउल भने घातक बन्यो । लियोनका थियागो मेन्डेजको खराब ट्याकलका कारण नेइमार मैदानमा लडे ।

जोर्नीमा चोट बोकेपछि नेइमारले इन्जुरी समयमसम्म खेल्न सकेनन् । र, उनलाई मेडिकल स्टाफले स्ट्रेचरमा राखेर मैदानबाट निकाले । गम्भीर चोट परेपछि नेइमारले स्ट्रेचरमा बसेर रुँदै मैदान छाडेका थिए ।

खेलका रेफ्री रेफर बनोइट बास्टिजले सुरुमा मेन्जेजलाई पहेंलो कार्ड दिएका थिए । तर, पछि पिचसाइड मोनिटरमा सो फउलबारे थप अध्ययन गरेपछि रेफ्रीले मैदान फर्किएर मेन्डेजलाई पहेंलो कार्ड रद्द गरेर रातो कार्ड दिँदै मैदानबाट निकाले ।

नइमारले रुँदै मैदान छाडेपछि हालसम्म उनको चोटको जाँचको अफिसियल रिपोर्ट क्लब पिएसजी सार्वजनिक गरेको छैन । उसले २४ घन्टासम्ममा नेइमारको बिस्तृत जाँच गरेर चोटको अवस्थाबारे बताउनेछ । नेइमार स्पेनिस बार्सिलोना छाडेर पिएसजी पुगेदेखि नै लगातार खराब चोटबाट गुज्रिँदै आइरहेका छन् ।

पिएसजी यस सिजन च्याम्पियन्स लिगमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आज अन्तिम १६ को ड्र पछि पिएसजीले अन्तिम आठमा जान सामना गर्नुपर्ने प्रतिस्पर्धीको टुंगो लाग्नेछ । यदि नेइमार लामो समय मैदानबाहिर रहने अवस्था आए पिएसजीका लागि आगामी खेलहरू निकै चुनौतीपूर्ण हुनेछन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १४:३७
Loading...