च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र आज हुँदै : सम्पूर्ण जानकारी

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ को ड्र आज हुँदैछ । युइएफएले पूर्वनिर्धारित कार्यक्रमअनुसार नकआउट चरणको ड्र आज गर्न लागेको हो । समूह चरणका ३२ टोलीमध्ये १६ टिमले अन्तिम १६ मा स्थान बनाएका छन् भने ८ टोलीले युरोपा लिगको समूह चरणमा स्थान पाएका छन् । ८ टोली भने यी दुवै प्रतियोगिताभन्दा बाहिर भए ।

यसपटक सबैजसो ठूला र उपाधि दाबेदार टिमहरू ठीकठाक अन्तिम १६ मा प्रवेश गरेका छन् । तर, यसपटक इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन इन्टर मिलान भने अन्तिम ३२ बाटै आउट भए । समूहको तेस्रो स्थानमा रहेको युनाइटेडले युरोपा लिगको समूह चरणमा प्रवेश पाएको छ । तर, मिलानले भने त्यो पनि पाएन ।

यी हुन् अन्तिम १६ मा पुग्ने टिम

समूह ए – बार्यन म्युनिख (विजेता), एथलेटिको मड्रिड (उपविजेता)

समूह बी – रियल मड्रिड (विजेता), मोन्चेङ्लाडवाच (उपविजेता)

समूह सी – म्यानचेस्टर सिटी (विजेता), पोर्टो (उपविजेता)

समूह डी – लिभरपुल (विजेता) एटलान्टा (उपविजेता)

समूह ई – चेल्सी (विजेता), सेभिल्ला (उपविजेता)

समूह एफ – बोरुसिया डर्टमुन्ड (विजेता), लाजियो (उपविजेता)

समूह जी – युभेन्टस (विजेता), बार्सिलोना (उपविजेता)

समूह एच – पिएसजी (विजेता), आरबी लेइपजिग (उपविजेता)

ड्र कति बजे हुन्छ ?

अन्तिम १६ को ड्र आज सोमबार हुनेछ । ड्र स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ ।

कसरी हुन्छ ड्र ?

– अन्तिम १६ पुगेका टोलीलाई दुई पटमा विभाजन गरिनेछ । र, दुई पटबीच ड्र गराइनेछ । जहाँ एउटा पटमा समूह विजेता र अर्को पटमा उपविजेतालाई अलग–अलग बनाएर राखिनेछ ।

– ड्र गर्ने नियमअनुसार अन्तिम १६ मा आफ्नो समूहको विजेता टिमले अन्य कुनै पनि समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यसैगरी, आफ्नो समूहको उपविजेता टिमले अन्य कुनै पनि समूहको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।

– ड्रको नियमअनुसार समूह चरणमा एकै समूहमा रहेका टिमले अन्तिम १६ मा एकअर्काबीच खेल्नुपर्ने छैन ।

– त्यसैगरी, एकै देशका दुई क्लबले अन्तिम १६ मा एकअर्काविरुद्ध खेल्नुपर्दैन । त्यसैअनुसार ड्र मिलाइनेछ । जस्तै, रियल मड्रिड समूह विजेता र बार्सिलोना उपविजेता भए पनि यी दुई टोली अन्तिम १६ मा खेल्नुपर्दैन । किनभने, यिनीहरू दुवै स्पेनका टोली हुन् ।

– ड्रअनुसार पट १ मा पर्ने सबै टिमले अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेल आफ्नो घरमा र पट २ मा पर्ने सबै टिमले पहिलो लेग आ–आफ्नो घरमा आयोजना गर्नेछन् ।

ड्र को लाइभ कसरी हेर्ने ?

अन्तिम १६ को ड्र कार्यक्रम युइएफएको अफिसियल वेबसाइटमार्फत् लाइभ हेर्न सकिनेछ । नेपालमा सोनी टेन टु एचडीबाट लाइभ हुनेछ ।

अन्तिम १६ का खेल कहिले ?

अन्तिम १६ मा यसपटक होम उन्ड अवे गरी दुवै लेग हुनेछन् । गत सिजन कोरोना भाइरसका कारण समय अभाव हुँदा अन्तिम आठदेखि सिंगल लेग मात्रै खेलाइएको थियो । तर, यसपटक सबै चरणका खेल दुवै लेगमा हुनेछन् । युइएफएको तालिकाअनुसार यसपटक अन्तिम १६ मा पहिलो लेगका खेल २०२१ को फेब्रुअरी महिनाको १६, १७ तथा २३ र २४ ताखिमा हुनेछन् । त्यसैगरी, दोस्रो लेगका खेलहरू २०२१ को मार्च ९ र १० तथा १६ र १७ तारिखमा हुनेछन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १३:१६
Loading...