च्याम्पियन्स लिगको अन्तिम १६ ठूला टिमलाई सहज प्रतिस्पर्धी : यस्तो हुनेछ सम्भावित ड्र

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजन अन्तिम १६ को समीकरण पूरा भएको छ । आज नकआउट चरणको ड्र हुँदैछ । यसपटक साबिक च्याम्पियन बार्यन म्युनिखसहित सबैजसो ठूला टोली अन्तिम १६ मा प्रवेश गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन इन्टर मिलान भने समूह चरणबाटै आउट भएका छन् ।

यतिबेला धेरैको ध्यान अन्तिम १६ मा कसको प्रतिस्पर्धी को पर्ला भन्ने चासो छ । अन्तिम १६ को ड्र कस्तो होला त ? ड्र गर्ने नियमका आधारमा सम्भावित ड्रबारे यहाँ चर्चा गरिएको छ ।

यी हुन् अन्तिम १६ मा पुग्ने टिम

समूह ए – बार्यन म्युनिख (विजेता), एथलेटिको मड्रिड (उपविजेता)

समूह बी – रियल मड्रिड (विजेता), मोन्चेङ्लाडवाच (उपविजेता)

समूह सी – म्यानचेस्टर सिटी (विजेता), पोर्टो (उपविजेता)

समूह डी – लिभरपुल (विजेता) एटलान्टा (उपविजेता)

समूह ई – चेल्सी (विजेता), सेभिल्ला (उपविजेता)

समूह एफ – बोरुसिया डर्टमुन्ड (विजेता), लाजियो (उपविजेता)

समूह जी – युभेन्टस (विजेता), बार्सिलोना (उपविजेता)

समूह एच – पिएसजी (विजेता), आरबी लेइपजिग (उपविजेता)

कसरी हुन्छ ड्र ?

– अन्तिम १६ पुगेका टोलीलाई दुई पटमा विभाजन गरिनेछ । र, दुई पटबीच ड्र गराइनेछ । जहाँ एउटा पटमा समूह विजेता र अर्को पटमा उपविजेतालाई अलग–अलग बनाएर राखिनेछ ।

– ड्र गर्ने नियमअनुसार अन्तिम १६ मा आफ्नो समूहको विजेता टिमले अन्य कुनै पनि समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यसैगरी, आफ्नो समूहको उपविजेता टिमले अन्य कुनै पनि समूहको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।

– ड्रको नियमअनुसार समूह चरणमा एकै समूहमा रहेका टिमले अन्तिम १६ मा एकअर्काबीच खेल्नुपर्ने छैन ।

– त्यसैगरी, एकै देशका दुई क्लबले अन्तिम १६ मा एकअर्काविरुद्ध खेल्नुपर्दैन । त्यसैअनुसार ड्र मिलाइनेछ । जस्तै, रियल मड्रिड समूह विजेता र बार्सिलोना उपविजेता भए पनि यी दुई टोली अन्तिम १६ मा खेल्नु पर्दैन । किनभने, यिनीहरू दुवै स्पेनका टोली हुन् ।

– ड्रअनुसार पट १ मा पर्ने सबै टिमले अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेल आफ्नो घरमा र पट २ मा पर्ने सबै टिमले पहिलो लेग आ–आफ्नो घरमा आयोजना गर्नेछन् ।

यस्तो हुनेछ सम्भावित ड्र

अन्तिम १६ को ड्र गर्दा समूह विजेता टिमहरूलाई एकातिर र उपविजेता टिमहरूलाई अर्कोतिर राखिनेछ । यसअनुसार समूह चणबाट अन्तिम १६ मा जाँदाको विजेता टिमले अन्य कुनै पनि समूहको उपविजेता (आफ्नै देशको क्लबबाहेक) प्रतिस्पर्धी पाउनेछ । त्यसैगरी, आफ्नो समूहको उपविजेता टिमले अन्य कुनै पनि समूहको विजेता (आफ्नो देशको क्लबबाहेक) प्रतिस्पर्धी पाउनेछ ।

अन्तिम १६ मा उपाधि दाबेदार मानिने सबैजसो ठूला टोलीले तुलनात्मक रूपमा सहज प्रतिस्पर्धी पाउने भएका छन् । किनभने, सबैजसो टूला टिमहरू समूह विजेता बनेका छन् । तर, स्पेनिस बार्सिलोना र एथ्लेटिको मड्रिड भने समूह उपविजेता बनेकाले उनीहरूले अन्तिम १६ मा कठिन प्रतिस्पर्धा पाउनेछन् । यतिसम्म कि, अन्तिम १६ राउन्डमा सबैभन्दा कठिन ड्र नै बार्सिलोना र एथ्लेटिकोलाई पर्ने पक्का छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, जर्मन क्लब बार्यन, बोरुसिया डर्टमुन्ड, इटालियन युभेन्टस, फ्रेन्च क्लब पिएसजी र स्पेनिस रियल मड्रिड समूह विजेता हुन् । यी सबै टिमले तुलनात्मक रूपमा सहज प्रतिस्पर्धी पाउनेछन् ।

ठूला टिमले पाउने सम्भावित प्रतिस्पर्धीहरू यी हुन्

म्यानचेस्टर सिटी – बार्सिलोना, सेभिल्ला, लाजियो, आरबी लेइपजिग, एटलान्टा, मोनचेङ्लाडवाच, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

बार्यन म्युनिख – बार्सिलोना, सेभिल्ला, पोर्टो, लाजियो, एटलान्टामध्ये एक ।

युभेन्टस – सेभिल्ला, पोर्टो, आरबी लेइपजिग, मोन्चेङ्लाडवाच, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

चेल्सी – बार्सिलोना, पोर्टो, लाजियो, आरबी लेइपजिग, एटलान्टा, मोनचेङ्लाडवाच, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

डर्टमुन्ड – बार्सिलोना, सेभिल्ला, पोर्टो, एटलान्टा, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

लिभरपुल – बार्सिलोना, सेभिल्ला, पोर्टो, लाजियो, आरबी लेइपजिग, मोनचेङ्लाडवाच, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

पिएसजी – बार्सिलोना, सेभिल्ला, पोर्टो, लाजियो, एटलान्टा, मोनचेङ्लाडवाच, एथ्लेटिको मड्रिडमध्ये कुनै एक ।

रियल मड्रिड – पोर्टो, लाजियो, आरबी लेइपजिग, एटलान्टा र मड्रिडमध्ये कुनै एक ।

बार्सिलोना – म्यानचेस्टर सिटी, बार्यन म्युनिख, चेल्सी, बोरुसिया डर्टमुन्ड, लिभरपुल, पिएसजीमध्ये एक ।

एथ्लेटिको मड्रिड – म्यानचेस्टर सिटी, युभेन्टस, चेल्सी, डर्टमुन्ड, लिभरपुल, पिएसजीमध्ये एक ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १२:२४
Loading...