लियोनले पिएसजीलाई उसकै घरमा हरायो : नेइमार फेरि घाइते

काठमाडौं, मंसिर २९
फ्रेन्च लिग वान फुटबलमा पिएसजी लिगको १४औं साताको खेलमा पराजित भएको छ । नेपाली समयअनुसार सोमबार बिहान आफ्नो घरेलु मैदानमा प्रमुख खेलाडी नेइमार घाइते भएको खेलमा पाहुना टोली लियोनले पिएसजीलाई ०–१ ले स्तब्ध बनायो । आफ्नै घरमा हारेपछि पिएसजी अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

नेइमार, एन्जल डि मारिया र मोइसे किनलाई सुरुआतमै खेलाए पनि पिएसजीले हार पन्छाउन सकेन । दोस्रो हाफमा केलियन एमबाप्पेलाई मैदान छिराइएको थियो । तर, उनको पनि यस खेलमा कुनै जादु चलेन । यससँगै पिएसजीले यो सिजन लिगमा चौथो हार व्यहोरको छ ।

लियोनका लागि खेलको ३५औं मिनेटमा टिनो काडेवेरले बक्स लाइनबाट हानेको लो सटले जाली चुमेको थियो । उनको प्रहार पिएसजीका गोलकिपर केलर नाभासले बचाउन नसक्दा लियोनले खेलमा ०–१ को अग्रता बनायो ।

३५औं मिनेटमा गोल खाएको पिएसजीले त्यसपछि खेलभरि नै थप गोल निकाल्न सकेन । र, खेल लियोनले ०–१ ले जित्यो । आफ्नो घरेलु मैदानमा पिएसजीले लियोनविरुद्ध जम्मा ७ पटक मात्रै आक्रमण बुनेको थियो भने जम्मा एक प्रहार मात्रै अन टार्गेट हानेको थियो ।

अब यो जितपछि लियोनले १४ खेलपछि २९ अंक बनाएर दोस्रो स्थानमा चढेको छ । उसले लिग लिडर लिलेसँग अंक बराबरी गरेको छ । पराजित पिएसजी समान १४ खेलपछि २८ अंकसहित तेस्रो स्थानमा छ ।

यस खेलमा नेइमारले चोट बोकेर ९०औं मिनेटमा मैदान छाडेका थिए । विपक्षी खेलाडीको फउलमा परेर जोर्नीमा समस्या देखिएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ०४:०२
Loading...