१८औं स्थानको लेभान्टेमाथि बार्सिलोनाको कठिन जित : मेस्सी बने नायक !

काठमाडौं, मंसिर २९
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लिगको ११औं साताको खेलमा कठिन जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १८औं स्थानको पाहुना टोली लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

क्याम्प नोउ रंगशालामा बार्सिलोनाले खेलभरि नै पकड जमाए पनि उसलाई गोल गर्न ७६औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो । लेभान्टेका गोलकिपर फेमान्डेजले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाका दर्जनौं प्रहार उनले बचाउ गरेका थिए ।

मेस्सीसहितको बार्सिलोनालाई आफ्नै घरमा १८औं स्थानको लेभान्टेले ठूलै समस्यामा पारिरहेको थियो । तर, खेलको ७६औं मिनेटमा मेस्सीले फ्रेन्की डे जोङको पासमा पोस्ट नजिकैबाट कडा प्रहारमा बललाई जाली चुमाएपछि खेलमा बार्सिलोनाले गोलको खडेरी अन्त्य र्दै १–० को अग्रता बनायो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि बार्सिलोनाले सोही १ गोलको अग्रता बचाएर खेल १–० ले जित्यो । यो हारसँगै लेभान्टेको ला लिगामा पछिल्ला ६ खेलको अपराजित यात्रामा पनि क्याम्प नोउमामा पूर्णविराम लागेको छ ।

अब यो जितपछि बार्सिलोनाले ११ खेलबाट कूल १७ अंक जोडेको छ । ऊ अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । बार्सिलोना अझै पनि लिग लिडर रियल सोसिडाड र एथ्लेटिको मड्रिडभन्दा ९ अंकले पछि छ भने रियल मड्रिडभन्दा ६ अंकले पछि छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ०३:३३
Loading...