१००औं खेलमा रोनाल्डोको २ गोल : युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं, मंसिर २९
इटालियन युभेन्टसका लागि फरवार्ड क्रिस्टियानो रोनाल्डोको १००औं खेलमा टिमले सहज जित निकालेको छ । सिरी ए लिगअन्र्तत आइतबार राति भएको लिगको ११औं खेलमा युभेन्टसले अवे मैदानमा लिगको १९औं स्थानको जेनोआविरुद्ध १–३ को जित निकाल्दा रोनाल्डोले २ गोल पेनाल्टीमार्फत् गरे भने १ गोल पाउलो डिबालाले गरे ।

पोर्चुगिज खेलाडी रोनाल्डोका लागि युभेन्टसको जर्सीमा आजको खेल कूल १००औं खेल थियो । उनले आफ्नो १००औं खेलमा २ गोल गर्दै यसलाई विशेष बनाए । उनले यसअघि च्याम्पियन्स लिगमा स्पेनिस बार्सिलोनाविरुद्ध पनि २ गोल पेनाल्टीमार्फत् नै गरेका थिए । उनले पछिल्ला २ खेलमा गरेका ४ गोल सबै लगातार पेनाल्टीमार्फत् नै भएका हुन् ।

जेनोआको घरेलु मैदानमा सुरुआतबाटै आक्रामक खेल खेले पनि युभेन्टसले पहिलो हाफमा गोल गर्न सकेन । पहिलो हाफ ०–० मा सकियो । तर, दोस्रो हाफमा दुवै पक्षबाट गरी ४ गोल भए । ५७औं मिनेटमा डिबालाले बक्स भित्रबाट जेनोआका डिफेन्डरका माझबाट कडा सटमा निकै सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाए । सिरी ए लिगमा उनका लागि यो सिजनकै पहिलो गोल थियो ।

गोल खाएको ४ मिनेटमै घरेलु टोलीले बराबरी गोल फर्कायो । फ्रि किक बलमा स्टेफानो स्टुराओले लो सटमा गोल पोस्ट नजिकैबाट सजिलै गोल गरेपछि खेल १–१ भयो । स्टुराओले युभेन्टसका गोलकिपर र डिफेन्डरलाई समेत जिल्ल्याँदै गोल गरेका थिए । तर, त्यसपछि घरेलु टोलीका लगातारका गल्तीले गर्दा पाहुना टोलीले २ पेनाल्टी पायो ।

खेलको ७८औं मिनेटमा रोनाल्डोले आफ्नो पहिलो गोल पेनाल्टीमार्फत् गरे । बक्समा जुआन काउडराडोमाथि जेनोआका खेलाडीले बक्समा खराब फउल गरेर लडाएपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टी दिएका थिए । फेरि खेलको ८९औं मिनेटमा युभेन्टसले दोस्रो पेनाल्टी पायो । यसपटक सब्सिच्युट खेलाडी अल्भारो मोराटालाई जेनोआका गोलकिपरले बल क्लियर गर्नेक्रममा लडाएपछि रेफ्रीले युभेन्टससाई दोस्रो पेनाल्टी दिए । दोस्रो पेनाल्टी पनि रोनाल्डोले नै हान्दै गोल गरेपछि खेल युभेन्टसले १–३ ले जित्यो ।

अब यो जितपछि युभेन्टसले ११ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा चढेको छ । पराजित जेनोआ ११ खेलपछि ६ अंकसहित १९औं स्थानमा छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ००:४३
Loading...